रुकुम पश्चिममा निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा बिहीबार सुरु भएको प्रतियोगिता शुक्रबार सपन्न भएको हो । निजामती दिवसको अवसरमा महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
१४ टिमले सहभागिता जनाएको पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा इश्वर रावल र भरतकुमार पुनको जोडी विजेता बनेको छ । त्यस्तै भवन चौधरी र अनमोल पुनमगरको जोडी उपविजेता बन्दा नवचन्द्र ओली र अयुव खड्का तथा ओपेन्द्र बोहरा र अशोक घर्तीको जोडी सानत्वना भएको निजामती सेवा दिवस मुल समारोह समिति खेल सञ्चालक उप समितिका संयोजक ताराप्रकाश पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला ब्याडमिन्टन तर्फ विनिता विष्ट र सलिना बुढाथोकीको जोडी प्रथम भएको छ । त्यस्तै निर्मला मल्ल र रुपा सिंहको जोडी दोस्रो स्थान प्राप्त गर्दा डिला पुन र यमा केसीको जोडी तेस्रो भएको खेल सञ्चालक उप समितिका संयोजक पुनले जानकारी दिनुभयाे । महिला ब्याडमिन्टन प्रतियोगितामा ५ समुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विजेता र उपविजेतालाई कप, मेडल र प्रमाणपत्र र सान्तवना स्थान हासिल गर्ने टिमलाई मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । पुरस्कार निजामती सेवा दिवसको अवसरमा शनिबार वितरण गरिने खेल संयोजक पुनले जानकारी दिनुभयो ।