कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले क्रिकेट खेलाडी उत्पादनमा ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश क्रिकेट संघकाे दोस्रो साधारण सभालाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले अबको ध्यान कर्णालीमा क्रिकेट खेलाडी उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
यसका लागि प्रदेश खेलकुद परिषद् गम्भीर रहेको उहाँले बताउनुभयो । `अब प्रशिक्षणलाई बढी प्राथमिकता दिऔँ, यसबाट धेरै खेलाडी उत्पादन हुन्छन्, यसमा क्रिकेट संघकाे तर्फबाट तपाइहरू लाग्नुहाेस, खेलकुद परिषद्बाट के गर्नुपर्छ सहयोगका लागि प्रतिबद्धता जनाउँछु, उहाँले भन्नुभयो ।´
उहाँले राष्ट्रिय टिममा कर्णालीबाट बढी भन्दा बढी खेलाडीको प्रतिनिधित्व हुने गरी लाग्नुपर्ने बताउनुभयो । ९० को दशकलाई राष्ट्रिय टिममा कर्णालीका खेलाडी प्रवेश गराउने दशकका रूपमा लिने प्रस्ताव पनि गर्नुभयो । `९० को दशकलाई कर्णालीबाट राष्ट्रिय टिममा खेलाडी पुर्याउने दशकका रूपमा लक्ष निर्धारण गरौँ, कसरी हुन्छ राष्ट्रिय टिममा कर्णालीका खेलाडीको वर्चस्व हुने गरी लागौँ, उहाँले भन्नुभयो ।´
साथै उहाँले कर्णाली प्रदेश अब पूर्वाधारमा कमजोर नरहेको बताउनुभयो । रङ्गशाला देखि प्रशिक्षण केन्द्रमा अब कर्णाली अब्बल बनेको उहाँको भनाई छ । प्रदेश खेलकुद परिषद् क्रिकेट विकासका लागि गम्भीर रूपमा लागेको समेत उहाँले बताउनुभयो ।