रुकुम पूर्वबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)ले अदालतमा पुगेर आत्मसर्मपण गर्नुभएको छ । आइतबार दिउँसो २ बजेतिर रुकुमकाेट जिल्ला अदालत रुकुम पूर्व पुगेर केसीले आत्मसमर्पण गर्नुभएको हो । आफै जिल्ला अदालत पुगरे प्रदेश सांसद केसीले आत्मसमर्पण गरेको जिल्ला अदालत रुकुम पुर्वका स्रेस्तदार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सांसद केसीलाई आइतबार नै कैद भुक्तानको लागि जिल्ला कारागार रुकुम पश्चिम चलान गरिएको छ । २०४८ सालमा उहाँलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । प्रदेश सांसद केसीले श्रीमतीसँगको मुद्दामा अदालतको पत्र किर्ते गरेको अभियोगमा अदालतले दोषी ठहर गर्दै १ वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसयता सांसद केसी फरारको सूचीमा रहँदै आउनुभएको थियो ।
जरिवाना बापतको २ हजार धरौटी रकमबाट कट्टा भइसकेको र अब केसीले १ वर्ष कैद भूक्तान गर्नुपर्ने स्रेस्तेदार सुवेदीले जानकारी दिनुभयो । गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।
यस विषयमा बुझदा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पनि सांसद केसी अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेको जनाएको छ । प्रहरीले पक्राउ नगरेकाले यस विषयमा प्रहरीलाई केही जानकारी नभएको रुकुम पुर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताउनुभयो ।