रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरका विभिन्न रोगका बिरामीलाई लक्षित गरी खलङ्गाको बाल मन्दिरमा शिविर सुरु भएको हो । ग्रेस मिसन सिंगापुरको सहयोग र मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा सिएसडिसीले शिविरको आयोजना गरेका हुन् ।
आज बाट सुरु भएको शिविर पर्सि बुधवारसम्म चल्ने छ । नगरका वडालाई विभाजन गरेर प्रत्येक दिन फरक फरक वडावासीलाई सेवा दिइने आयोजक रूपान्तर नेपालका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राहीले सेवा पाउने छन् । भोली ५ देखि ९ सम्मका र पर्सी अन्तिम दिन १० देखि १४ नम्बर वडावासीले सेवा पाउने उहाँले बताउनुभयो ।
शिविरमा स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसा लगायत शरीरका विभिन्न अंगको दुखाई, दाँत सम्बन्धी सेवा, हाइड्रोशील अण्डकोष सुनिने सम्बन्धी समस्याको जाँच तथा उपचार गरिने अध्यक्ष शर्माले बताउनुभयो । स्वास्थ्य जाँच र औषधि वितरण निःशुल्क हुने छ भने नाम दर्ता गर्न १ सय रुपैयाँ मात्र शुल्क लाग्ने बताइएको छ । शिविरमा नेपाली र सिंगापुरका गरी विशेषज्ञ सहित २२ जना डाक्टर खटिएको शर्माले बताउनुभयो ।
शिविरमा बिहानै देखि भिड लागेकाे छ । शिविर सुरु नहुँदै गाउँ गाउँबाट मान्छेहरु बालमन्दिर पुगेका थिए । पालाेका लागि लामाे लाइन लागेकाे छ ।