Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल अव कोभिड अस्पताल 
स्वास्थ्य सेवा कार्यालय ।

जिल्ला अस्पताल रुकुम पश्चिम अव कोभिड अस्पताल बन्ने भएको छ । कोरोना संक्रमित बढ्दै गएपछि प्रभावकारी उपचार प्रवन्ध मिलाउनका लागि अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गरिने भएको हो । आज पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को उपस्थितिमा अस्पतालमा भएको बैठकले जिल्ला अस्पतालमा कोभिडका बिरामिलाई मात्र राख्ने र उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । 

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामिको चाप बढ्दै गएपछि अस्पतालको नियमित सेवा बन्द गरिएको थियो । नियमित सेवा पनि दिनुपर्ने तर जिल्ला अस्पतालमा दिदा संक्रमण थप फैलिन सक्ने भएकाले नियमित सेवा अन्यत्रै दिने गरी अस्पताललाई कोभिडका लागि मात्र प्रयोग गर्ने निर्णय भएको हो ।

यसका लागि स्वास्थ्य सेवा कार्यालयको तल्लो तला र स्टोर रुम, पुरानो तालिम हल, आयुर्वेद रहेका सबै भवनहरु खाली गर्ने निर्णय भएको छ । यसरी व्यवस्थापन गर्दा अस्पतालमा ७० बढी वडे रहने छन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयबाट प्रवाह हुँदै आएका प्रसुति बाहेकका सेवा सल्लेमै रहेको राप्ती समाज अस्पतालबाट दिईने छ । 

पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माको आग्रहमा प्राविधिक जटिलताका कारण प्रसुति सेवा अस्पतालबाटै दिने र त्यो बाहेकका सम्पूर्ण नियमित सेवाहरु छुट्टै दिने निर्णय भएको हो । राप्ती समाजलाई मुसीकोट नगरपालिकाले भाडामा लिएर ५० वेडको आईसोलेसन वार्डका रुपमा प्रयोग गरिरहेको थियो । 

अव उक्त आईसोलेसनलाई जिल्ला अस्पतालमै सारिने छ । कोभिडका बिरामिलाई एकै ठाउँमा राखेर सेवा दिदा उपचारमा सहज हुने र संक्रमण फैलनबाट पनि जोगिने विश्वास गरिएको छ । त्यसका लागि जतिसक्दो छिटो तयारी पुरा गरेर भोली देखि नै जिल्ला अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न नेता शर्माले आग्रह गर्नुभयो । 

उहाँले यो महामारीका बेलामा सबै डटेर लाग्नु पर्ने त्यसमा पनि स्वास्थ्यकर्मीहरुको भुमिका झन बढी रहेको बताउनुभएको थियो । उच्च मनोबलका साथ काम गर्न र अपुग सामग्रिको व्यवस्थापनका लागि पहल आफुले गर्ने आश्वासन पनि उहाँले दिनुभयो । ‘अहिलेसम्म जे छ त्यसलाई अझै बढाउनुहोस्, मैले पहल गरिरहेको छु, अझै कति हुन्छ गर्ने नै छु, सबैभन्दा ठुलो मान्छेको ज्यान हो, सबै लागौं मान्छेलाई मर्न नदिऔं, उहाँले भन्नुभयो ।’ 

यसका साथै एउटा शव वहान र एउटा एम्बुलेन्स पनि खरिद गरिने भएको छ । कोभिड व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयमा पठाएको १ करोड बजेटबाट शव वहान र एम्बुलेन्स खरिद गर्ने निर्णय भएको हो ।अक्सिजन प्लाट निर्माणका लागि तत्काल सम्झौता गर्ने, अक्सिजनका खालि सिलिण्डर लिएर भरेर ल्याउनका लागि एउटा मिनि ट्रक भाडामा लिने, अक्सिनजको सहज व्यवस्थापनका लागि एक जना सम्पर्क व्यक्ति तोकेर खटाउने निर्णय पनि भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update