भूकम्प प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सडक स्तरोन्नति काम सुरु भएको छ । नगरपालिकाको बढी प्रभावित चार वटा वडाका स्थानीयलाई लक्षित गरी सडक स्तरोन्नतिको काम सुरु गरिएको हो । बेलायत राजदूतावास काठमाडौँको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस् नेपालको सहकार्यमा सञ्चालित सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी सडक स्तरोन्नतिको काम सुरु भएको आठविसकोट नगरपालिकाले जनाएको छ ।
प्रभावित क्षेत्रका वडा नम्बर ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामको लागि नगद, तालिमका लागि नगद र निः सर्त नगद सहायता कार्यक्रम अन्तर्गत रोजगारी जोडेको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । त्यस्तै तालिमका लागि छनोट भएका व्यक्तिले तालिम सिकेर प्रभावित क्षेत्रमा पुनर्निर्माण सम्बन्धी काम गर्दा निः सर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्ग तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्ने छन् ।
छनोट भएका सबै व्यक्तिहरूले ४० दिन बराबरको दुई किस्तामा ३६ हजार रुपैयाँ प्राप्त गर्ने छन् । कामको लागि नगद कार्यक्रम अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रम प्रतिनिधि मुकेशकुमार शर्माले बताउनुभयो। उहाँका अनुसार छनोट भएका कामदारले प्राविधिकको सल्लाह अनुसार ४० दिन काम गर्नुपर्ने छ । छनोट भएका प्रत्येक वडाबाट कामका लागि नगद कार्यक्रमको लागि ३ सय ९७, तालिमको लागि नगद कार्यक्रम अन्तर्गत ४० र निः सर्त नगद कार्यक्रममा ८८ जना छनोट गरिएको छ । जस अन्तर्गत चार वटा वडाबाट २ हजार १ सय व्यक्ति लाभान्वित भएका छन् ।
सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत शनिवारबाट वडा नम्बर ११ को झ्याम खोला गोइरी तुसारे सडक स्तरोन्नतिको काम सुरु भएको छ । यहाँ करिब साढे २ किलोमिटर सडक स्तरोन्नति हुनेछ । बाँकी ३ वटा वडामा १५ किलो मिटर सडक स्तरोन्नतिको काम हुने आठविसकोट नगरपालिकाले जनाएको छ । भूकम्पबाट प्रभावित आठबिसकोट नगरपालिकामा सञ्चालन भएको परियोजनाले गरिब तथा सहारा विहीन व्यक्तिलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेकाले स्थानीयलाई खाद्य सुरक्षा हुने र छनोट भएका ग्रामीण सडक स्तरोन्नतिले स्थानीयको जीवनस्तर उकास्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
खाद्य सुरक्षा अभिवृद्धि परियोजनाले काम गर्ने र काम गर्न नसक्ने सबै प्रकारका घरधुरीलाई समेटेकाले यसले आर्थिक अवस्थामा सुधार ल्याउने नगर प्रमुख केसीले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समावेश नभएका अन्य घरधुरीलाई पनि अन्य कार्यक्रममा समेट्ने गरी सङ्घसंस्था सँग समन्वय गरिने आठविसकोट नगरप्रमुख केसीले बताउनुभयो । आर्थिक सहयोग गर्ने बेलायत राजदूतावास काठमाडौँ, विश्व खाद्य कार्यक्रम र कार्यक्रम सञ्चालन गर्ने सप्रोस् नेपाललाई आठविसकोट नगरपालिकाले धन्यवाद समेत ज्ञापन गरेको छ ।