Kakhara सबैको खबर सम्पूर्ण खबर

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदै छ । दुई वर्ष अघि गण्डकी प्रदेशको पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद समापनको क्रममा १० औँ राष्ट्रिय खेलकुद कर्णाली आयोजना गर्ने भन्दै झन्डा कर्णालीलाई हस्तान्तरण गरिएको थियो । जस अनुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने गरी मिति तय भइसकेको छ । राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतमा विभिन्न संरचनाहरू निर्माण भएका छन् । प्रदेशका अन्य जिल्लामा समेत विभिन्न खेलका लागि संरचनाहरू निर्माण भएका छन् । प्रदेश खेलकुद विकास परिषद्ले कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिने जनाएको छ । परिषद्ले एक सय दिने काउनडाउन समेत सुरु गरिसकेको छ । भौतिक संरचना पनि तीव्र गतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला निर्माणाधीन अवस्थामा छ । सुर्खेतमै क्रिकेट लगायतका संरचनाहरू पनि निर्माणाधीन छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गर्छ । उसले परिषद् तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी समेत गरिरहेको छ । तर पछिल्लो समय १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुनेमा आशङ्का उब्जिएका छन् । सरकार परिवर्तन भएपछि राष्ट्रिय खेलकुदको चर्चा सेलाएको छ भने समयमै हुनेमा आशङ्का बढेको छ । यस्तो अवस्थामा कखराका सम्पादक मनिष खड्काले कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालसँग १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, समयमै प्रतियोगिता हुने सम्भावना लगायतका विषयमा केन्द्रित रहेर मुख्य रङ्गशाला वीरेन्द्रनगरमा पुगेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सदस्य सचिव संज्यालसँगको कुराकानी जस्ताको तस्तै । 

तोकिएको समयमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सम्भावना कति छ ? 
हाम्रो तर्फबाट गर्नुपर्ने न्यूनतम तयारी हामीले गरेका छौँ । र मैले आफ्नो तर्फबाट, कर्णाली प्रदेशको तर्फबाट हेर्दा तोकिएको समयमा गर्न नसकिने कुनै कारण देखिँदैन । हामीलाई दिएको जिम्मेवारी पूर्वाधारको निर्माण वा हामीले तयारी गर्नुपर्ने बसोबासको व्यवस्थापन गर्ने कुराहरूमा हाम्रो सम्पूर्ण तयारी छ । गर्न सकिन्छ भन्ने नै हो । फेरी अन्ततोगत्वा यसको अन्तिम निर्णय राष्ट्रिय खेलकुद परिषद्ले, युवा तथा खेलकुद मन्त्रालयले नै गर्ने भएकोले उहाँको जिम्मामा पर्‍यो । तर हाम्रो एउटै भनाई के छ भने गर्ने भनेर २ वर्ष अगाडी भएको निर्णय कार्यान्वयन गर्नुपर्छ । निर्णय गर्दै जाने कार्यान्वयन नगर्दा यसले खेलकुद क्षेत्रमा अन्यौलता ल्याउँछ । कि त के कति कारणले हुन सकेन र अर्को कुन डेटमा हुने हो भनेर तोकिनु पर्‍यो । नभए तोकिएकै मितिमा गर्दा नै खेलकुदमा आशा पलाउने काम हुन्छ खेलकुद क्षेत्रलाई । होइन भने राजनीतिक परिवर्तन भएर समयमा हुन सकेन कि भन्ने कुराको आशङ्का गर्ने ठाउँ खेलाडी, खेलकुद क्षेत्रले पाउँछ । यो नहुनका लागि तोकिएकै समयमा हुनुपर्छ । यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने ट्रेन्ड बस्छ । जसरी दसैँ सार्न मिल्दैन, तिहार सार्न मिल्दैन त्यसरी नै खेलकुद पनि तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय ट्रेन्ड हो, प्रचलन पनि हो र नेपालमा पनि राष्ट्रिय खेलकुदहरू नसार्ने गरी ट्रेन्ड बसाइयो भने भोलीका संस्करणहरू पनि समयमै हुन्छन् । 

Rangasala-1725956051.jpg
पूर्वाधार निर्माण नसकिएकोले पनि समयमै खेल नहुने हो कि भन्ने चिन्ता देखियो नि ?
७० दिनभन्दा बढी समय बाँकी छ । आज हामीले कुरा गरिरहेको मिति भन्दा एक महिना पछाडि यहाँ आउनुहोस् यहाँको केही काम बाँकी रहेको हुँदैन, तपाइलाई म यत्ति भन्न सक्छु । एक महिनापछि आउनुभयो भने अहिले देखिएको आशङ्का मेटिइसकेको हुने छ । पूर्वाधारका हिसाबले हामी पूर्ण रूपमा तयारी अवस्थामा छौँ । एक महिनामा आवश्यक जे जे संरचना बनिसक्नुपर्ने हो त्यो सबै बनिसकेको हुने छ । 

पूर्वाधारका हिसाबले कर्णालीमा कति वटासम्म खेल खेलाउन सकिन्छ ? 
दशौँ राष्ट्रिय खेलकुदमा हामीले कर्णालीमा २४ वटा खेल खेलाउन सक्ने पूर्वाधार तयार भएको छ । त्यसमध्ये हामीसँग १३ वटा जति प्रदेश भरमा इन्डोर हलहरू छन् सुर्खेत वीरेन्द्रनगर भित्र र बाहिरका जिल्लामा गरेर । १३ वटा हलमा १४ वटा खेल खेलाउन सक्छौँ भन्या छौँ हामीले । बाँकी १० वटा आउटडोर फिल्ड छन् । यसरी २४ वटा खेल खेलाउन सकिने पूर्वाधार हामीसँग यथेष्ट छ । एउटा एथलेटिक्सको ट्र्याकमा सिंथेटिक लाग्न बाँकी छ । एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । यो पनि एक महिनामा सकिन्छ । २४ वटा राष्ट्रिय स्तरका खेल खेलाउन सकिने हामीसँग पूर्वाधारहरू छन् । २४ वटा खेलका हामीसँग खेलाडीहरू पनि छन् । ती खेल पूर्वाधारहरू दसौँ पछि पनि संरक्षण गर्न सकिन्छ । अन्य खेल कति खेलाउने, कहाँ खेलाउने भन्ने विषय राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गर्ने विषय हो । 

BM-Sanjyal-1725956054.jpg
कर्णालीमा पनि राष्ट्रिय खेलकुद गर्न सकिन्छ र भनेर प्रश्न उठेका थिए । अहिले यो विषयलाई यहाँले कसरी समीक्षा गर्नुहुन्छ ? 
कर्णालीमा खेलकुदका पूर्वाधार नभएकोले राष्ट्रिय खेलकुद गर्न सकिँदैन भन्ने जुन भाष्य थियो । नवौँ राष्ट्रिय खेलकुदको समापनमा झन्डा कर्णालीले ग्रहण गर्दा राष्ट्रिय स्तरका मिडियाले नै भात खानका लागि दसैँ कुर्नुपर्ने कर्णालीले कसरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्छ, पूर्वाधारहरू केही पनि छैन भनेर लखेका थिए । त्यसलाई हामीले चुनौतीको रूपमा लियौँ, चुनौतीलाई अवसरमा परिणत गर्ने मौकाको रूपमा लियौँ । सबै जना लागियो । सिङ्गो सरकार, यहाँका आम जनता, कर्णाली प्रदेशको सिङ्गो टिम लागेर यसलाई गौरवको आयोजना अन्तर्गत अगाडी बढाउने निर्णय भइसकेपछि यो सबैको साथ र सहयोग, सल्लाह, सुझावले अहिलेको अवस्थामा पुगेका हौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीले सक्छ है भन्ने अवस्थामा पुग्नुका पछाडि चुनौतीलाई अवसरका रूपमा लिनु रहेको छ । 

Rankashala-1725956045.jpg
तोकिएकै समयमा प्रतियोगिता गर्नका लागि सङ्घ र प्रदेश सरकारसँग पछिल्लो समय केही छलफल भएको छ ? 
अहिलेसम्म केही भएको छैन । मैले २ वर्ष अघि भएको निर्णय अनुसार अब १ सय दिन मात्र बाँकी छ, अहिले नै तातिएनौ भने तयारी पुग्दैन भनेर एक सय दिनको काउनडाउन सुरु गरेर झकझक्याइदिएको छु । सुनसान, चुपचाप खेलकुद कहिले हुन्छ, हुँदैन भन्ने विषय देशभरिका खेलाडीलाई जुन अन्यौलता थियो त्यसलाई चिर्नका लागि अब धेरै दिन बाँकी छैन है, तयारी थाल्ने सबै निकायहरू तातिनुपर्‍यो, हामी त तयार छौँ भनेर साङ्केतिक रूपमा घचघच्याउने काम भएको छ । त्यसपछि तत्कालै सङ्घीय मन्त्री ज्यु आएर सात दिन, १५ दिन भित्र प्रगति हेरेर निर्णय लिन्छु भन्नुभएको थियो । १५ दिन बढी भइसक्यो तर अहिलेसम्म केही निर्णय भएको छैन । अन्तिम निर्णय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले गर्ने भएकोले गर्ने वा नगर्ने, तोकिएको समयमा हुन नसके कारण सहित कहिले गर्ने भनेर फिक्स गर्दिन पर्‍यो । गर्ने हो भने तयारीका लागि अब धेरै समय बाँकी छैन । घण्टा, सेकेन्डका हिसाबले काम गर्नुपर्‍यो यही मेरो सुझाव छ । 

Karnali-Rangashala-1725956044.jpg
खेलाडी छनोट कहाँ पुग्यो ? 
दसौँ राष्ट्रिय खेलकुदका लागि सङ्घ र प्रदेश सरकारले के कस्तो छलफल गरिरहेका छन् त्यो हामीलाई जानकारी छैन । प्रदेशका तर्फबाट हामीले हाम्रो टिम सहभागिता गर्ने विषय हो । प्रदेश टिम सहभागीताका लागि बन्द प्रशिक्षणहरू भइरहेका छन् । केही खेलका प्रदेश टिम छनोट गर्न बाँकी छन् । तिनका छनोट गर्ने काम हुन्छन् । दुई अङ्कको स्वर्ण पदकको लक्ष सहित हामी दशौँ राष्ट्रिय खेलकुदमा उत्रिँदै छौँ, त्यसका लागि ८ वटा खेलको बन्द प्रशिक्षण सुरु भइसकेको छ । 

Biswamitra-1725956053.jpg
सुर्खेत बाहेक अन्य कुन कुन जिल्लामा खेल हुन्छन् ? 
तयारीका हिसाबले हामीले जिल्ला जिल्लामा केही पूर्वाधारहरू बनाएका छौँ । पूर्वाधार भएका जिल्लामा बसोबासको पनि व्यवस्था छ । त्यहाँसम्म यातायातको पनि सुविधा छ । भलै कर्णालीको भूगोलका कारण यातायातमा केही खर्चिलो होला । सुर्खेतको वीरेन्द्रनगर भित्रै सबै खेलहरू एकै पटक खेलाउँदा बसोबासको समस्या हुन्छ । कर्णालीका अरू जिल्लामा पनि खेलकुद लैजाँदा कर्णालीलाई देशै भरी चिनाउँछ, आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ र खेलकुदको विकास गाउँ गाउँसम्म हुन्छ भनेर हामीले अन्य जिल्लामा पनि खेल गर्नुपर्छ भनेर प्रस्ताव गरेका छौँ । यसको अन्तिम निर्णय गर्ने राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले नै हो । तर हाम्रो तयारी सबै जिल्लामा खेल लैजाने भन्ने छ ।

Rangasala-Skt-1725956049.jpg
हुम्लामा हकीको मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्लामा इन्डोर हल छ । कालिकोटमा पनि कबर्डहल छ । दैलेखमा इन्डोर गेम खेलाउन सकिन्छ । रुकुम पश्चिममा पनि हल छ । सल्यानमा टेबल टेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ र खेल आयोजना गर्न सकिने बसोबासको व्यवस्था गर्न सकिन्छ सुर्खेत भन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतिको अपनत्व लिन सक्ने ठाउँ हुन्छ । सबै जिल्लामा लैजाँदा नै हित हुन्छ, कर्णालीको अर्थतन्त्र चलायमान हुन्छ भन्नेमा हामी स्पष्ट छौँ । सोही अनुसार गर्छौँ । गाउँ गाउँमा खेल विकासका साथै कर्णालीमा पर्यटन प्रवर्द्धन गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यसलाई खेर जान नदिने गरी लागेका छौँ र लाग्छौँ ।  

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update