रुकुम पश्चिममा पनि २२ औँ आत्महत्या रोकथाम दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम मुसिकोटमा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा आत्महत्याको अवस्था, रोकथाम तथा नियन्त्रणका उपायहरू, मानसिक समस्याको पहिचान तथा उपचार लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जिल्लामा आत्महत्याको अवस्था, यसले समाजमा पारेको असर, रोकथामका उपायहरू लगायतका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले आत्महत्या रोकथामका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । आत्महत्याको जरो समाजसँग जोडिएको भन्दै सहभागीहरूले समाजले नै त्यसलाई पहिचान गरी न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर ओसिन पुनले मानसिक रोगका लक्षण, उपचार तथा आत्महत्या रोकथामका उपायका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख तथा उपप्रमुख देवबहादुर विकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सरोकारवाला तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । दिवसको उद्देश्यका बारेमा सिएमसी नेपालका डिलबहादुर शाहीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले गर्नुभएको थियो ।
यसैबिच जिल्लाको सानीभेरी गाउँपालिकामा आत्महत्या रोकथाम दिवसको अवसरमा र्याली निकालिएको छ । सानीभेरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र सिएमसी नेपालको सहकार्यमा वडा नम्बर ४ को बलिबाङमा र्याली निकालिएको थियो भने सानोभेरी माविमा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा पनि आत्महत्या रोकथाम कसरी गर्न सकिन्छ, यसले समाजमा पारेको असर लगायतका विषयमा छलफल गरिएको थियो ।
सानीभेरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको प्रमुख र उपाध्यक्ष कमला रोकाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा दिवसको उद्देश्य र आत्महत्या रोकथामका बारेमा सिएमसी नेपालका डिलबहादुर शाहीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सानीभेरी गाउँपालिकाका सामुदायिक मनोसामाजिक कार्यकर्ता बालकृष्ण विकले गर्नुभएको थियो ।
मंगलबार देशभरमा आत्महत्या रोकथाम दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।