Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा बढ्दै आत्महत्या, साउन देखि हालसम्म ९ जनाले आत्महत्या गरे 

रुकुम पश्चिममा आत्महत्या बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म ९ जनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको रेकर्ड अनुसार ४ पुरुष, ३ महिला र एक बालक तथा एक बालिकाले आत्महत्या गरेका छन् । जिल्लामा आत्महत्या डरलाग्दो अवस्था रहेको प्रहरी बताउँछ । 

बर्सेनि ठुलो सङ्ख्यामा आत्महत्या हुने गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताउनुभयो । उहाँका अनुसार विगत ४ वर्षमा १ सय २२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म जिल्लामा उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा महिला र पुरुष मात्र नभई बालबालिकाहरू समेत रहेका छन् । 

प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी झुन्डिएर आत्महत्या हुने गरेको छ भने विष सेवन तथा गोली हानेर पनि आत्महत्या भएका छन् । आत्महत्याका कारणहरू भने विभिन्न रहेका छन् । आत्महत्या गर्नुका पछाडि मानसिक रोग, परीक्षा, व्यवसाय र प्रेममा असफल, गरिबी, बालविवाह, बेरोजगारी लगायत देखिएको डिएसपी पोखरेलको भनाई छ छ ।

आत्महत्या न्यूनीकरणका लागि घर परिवार, समाज देखि सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । मानिसलाई जीवनप्रतिको माया जगाउनका लागि सबै मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले जानकारी दिनुभयो ।

साउन ३० गते देखि जिल्लामा आत्महत्या न्यूनीकरण अभियानको थालनी भएको छ । जिल्लामा आत्महत्या विकराल बन्दै गएको भन्दै उहाँले सबै सरोकारवालाको हातेमालोमा मात्र यसलाई कम गर्न सकिने र यसैका लागि अभियानको समेत थालनी भएको बताउनुभयो । जिल्ला, पालिका हुँदै वडा तहसम्मै यो अभियान अन्तर्गत सरोकारवाला सबैको साझेदारीमा आत्महत्या रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने उहाँले बताउनुभयो ।

साथै हरेक वर्ष आत्महत्या रोकथाम दिवस समेत मनाउने गरिएको छ । देश भरमा सोमबार मात्र २२ औँ आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथामका लागि विभिन्न प्रयासहरू भइरहे पनि रोकथाममा ठुलो उपलब्धि भने हासिल हुन सकेको छैन ।   

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update