रुकुम पश्चिमका सरोकारवालाहरूले धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएका छन् । नेपाल बहुल जाती, बहुल भाषिक र बहुल संस्कृति भएको देश भएको र यहाँको मौलिकता विश्वमै भिन्न खालको भएको भन्दै सरोकारवालाहरूले धार्मिक सहिष्णुतामा जोड दिएका हुन् ।
मुसिकोटमा आयोजित मानव अधिकार अन्तर धार्मिक शान्ति अभियानमा विश्वव्यापी आवधिक समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाले विविधतामा एकता कायम गर्दै अघि बढ्नुपर्ने र यसका लागि एउटा धर्मले अर्को धर्मको अस्तित्व स्वीकार गरेर धार्मिक सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
संयुक्त राष्ट्र सङ्घको मानव अधिकार आयोग उच्च आयुक्तको कार्यालयमा गैरसरकारी संस्थाको तर्फबाट सुझाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । साथै सरकारले पनि हरेक ४ वर्षमा संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्मा देशको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने गर्छ । यसैका लागि कार्यक्रम आयोजना गरिएको आयोजक रूपान्तर नेपालले जनाएको छ ।
यस कार्यक्रममा सहभागी सरोकारवालाहरूले रुकुम पश्चिममा धार्मिक कलह नरहेको भए पनि मानवअधिकारका अन्य विभिन्न विषयमा समस्या रहेको भन्दै उक्त बारेमा जानकारी सहित विभिन्न सुझावहरू दिएका थिए । धर्मलाई प्रलोभनमा जोड्न नहुनेमा र कुनै पनि नागरिकले स्वतः स्फूर्त रूपमा धर्म मान्न पाउनुपर्ने उनीहरूको जाेड थियो ।
अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा रूपान्तर नेपाल रुकुम पश्चिमले कार्यक्रमको आयोजना गरेको हो । धर्म र सामाजिक विभेदका कारण भएका मानव अधिकार उल्लङ्घन तथा हननका विषयमा सरोकारवालाहरूबाट सुझाव सङ्कलन गरिएको थियो ।
कार्यक्रममा युपिआरको परिचय तथा युपिआरमा धार्मिक विषयको प्रतिवेदन र सम्बोधनका प्रयासका बारेमा जानकारी इन्सेकका पैरवी व्यवस्थापक सम्झा श्रेष्ठले जानकारी गराउनुभएको थियो भने सवालहरूको सम्बोधनको लागि अबको विकल्प, युपिआरको रिपोर्टमा धार्मिक तथा सामाजिक सवालहरू कसरी समेट्ने ? भन्ने लगायतका विषयमा रूपान्तर नेपालका अध्यक्ष मुकुन्दकुमार शर्माले जानकारी गराउनुभएको थियो । कार्यक्रमको उद्देश्यका बारेमा अन्तर धार्मिक शान्ति महासंघ नेपालका कार्यक्रम निर्देशक विमला श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमबाट प्राप्त सुझावलाई गैरसरकारी संस्थाको तर्फबाट संयुक्त राष्ट्र सङ्घको मानव अधिकार आयोग उच्च आयुक्तको कार्यालयमा बुझाइने इन्सेकका पैरवी व्यवस्थापक सम्झा श्रेष्ठले जानकारी दिनुभयो । देशै भरबाट सुझाव सङ्कलन भइरहेको उहाँको भनाई छ ।
रूपान्तर नेपालका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, पूर्व कर्णाली प्रदेश सभा सदस्य देव ओली, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार दीपेन्द्र महताराले गर्नुभएको थियो ।