Kakhara सबैको खबर सम्पूर्ण खबर
६० औँ बाल दिवसका अवसरमा चौरजहारीमा विभिन्न प्रतियोगिता आयोजना

६० औँ बाल दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा विभिन्न कार्यक्रम आयाेजना गरिएकाे छ । नगर बाल सञ्जालसँगको सहकार्यमा चौरजहारी नगरपालिकाले दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । भदौ २९ गते शीतल माविमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू हुने बताइएको छ । तहगत रूपमा हिसाब दौड, हाजिरी जवाफ, निबन्ध र सन्देशमूलक गीत तथा नृत्य प्रतियोगिता आयोजना गरिएको नगर बाल सञ्जालका अध्यक्ष दीपक डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसको अवसरमा आधारभूत तह कक्षा १–५ मा हिसाब दौड र आधारभूत तह कक्षा ६–८ का लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक तह कक्षा ९–१० लागि भने निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । यसको शीर्षक ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने तय गरिएको छ । यही नारा सहित यो वर्ष बाल दिवस मनाइँदै छ ।

सन्देशमूलक गीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष डाँगीले जनाउनुभयो । यसमा नगरका १ देखि १४ सम्मकै बाल क्लबहरूले सहभागिता जनाउन पाउने छन् । बाल दिवसका अवसरमा आयोजना हुने प्रतियोगितामा सहभागीताका लागि नगरपालिका र नगर बाल सञ्जालले नगरभरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय, विद्यार्थी तथा बाल क्लबहरूलाई आग्रह गरेका छन् ।  

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update