Kakhara सबैको खबर सम्पूर्ण खबर
निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै दुई हजार व्यक्तिले सेवा लिए 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै २ हजार जनाले सेवा लिएका छन् । तीन दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट विभिन्न ठाउँका १ हजार ९ सय ९५ व्यक्तिले सेवा लिएका हुन् । मुसिकोट नगरपालिका भित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी सोमबारबाट शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म चलेर बुधबार सकिएको छ । 

WhatsApp-Image-2024-09-11-at-16.12.33_6ce268d2-1726139192.jpg

निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिए भन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तर नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन ४ सय ५७, दोस्रो दिन ६ सय ५२, तेस्रो तथा अन्तिम दिन ७ सय ८५ जना सेवाग्राहीले सेवा लिएका हुन्  । भाेलेन्टिएर ५० जना, अन्य ५१ जना गरेर  शिविरबाट जम्मा एक हजार नाै सय ९५ जनाले सेवा लिएकाे उहाँले जानकारी  दिनुभयाे । 

मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिएपनि निःशुल्क स्वास्थ्य शिविरबाट जाजरकोट, रोल्पा र रुकुम पूर्वसम्मका विरामीले सेवा लिएको अध्यक्ष शमाले जानकारी दिनुभयो ।

शिविरबाट उपचार सम्भव नभएका २० जना विरामीलाई नेपालगञ्ज र १० जना विरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोर्नी र स्त्री रोग सम्बन्धिका विरामी रहेका छन् । शिविरमा नाम दर्ताको लागि १ सय रुपैयाँ दर्ता शुल्क रहेकामा विरामी चेकजाँच तथा औषधी वितरण निःशुल्क गरिएको थियो ।

शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको चेकजाँच तथा उपचार गरिएको थियो । त्यस्तै सशरीरका विभिन्न अंगको दुखाई, दाँत सम्बन्धी सेवा, हाइड्रोशील अण्डकोष सुनिने सम्बन्धी समस्याको चेकजाँच तथा उपचार  गरिएको  थियो । शिविरमा २ जना नेपाली र २० जना सिंगापुरका गरी विशेषज्ञ सहित २२ जना डाक्टरले सेवा प्रदान गरेको अध्यक्ष शमाले जानकारी दिनुभयो ।

ग्रेस मिसन सिंगापुरको आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा सिएसडिसीले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् ।
WhatsApp-Image-2024-09-11-at-16.12.35_4f6917b3-1726139192.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update