रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यायलयमा पठनपाठन नियमित हुनुपर्ने माग सहित विद्यार्थी मुसिकोट नगरपालिका पुगेका छन् । अखिल क्रान्तिकारी मावि मुल इकाइ समिति सहित अन्य विद्यार्थीहरु पठनपाठन नियमित हुनुपर्ने माग सहित नगरपालिका पुगेका हुन् । आज विहान देखि उक्त विद्यालयका ५ जना कर्मचारीले ११ महिनासम्मको तलव नपाएको भन्दै प्रअ गोपिराम केसीको कार्यकक्षमा ताला लगाएका छन् । त्यस पश्चात पठनपाठन प्रभावित भएकाे छ ।
सो पश्चात विद्यालयमा अध्यरत विद्यार्थी नारा जुुलुस सहित नगरपालिका पुगेका थिए । मुसिकोट नगर उप प्रमुखसँग भेटेर विद्यालयको पठनपाठन नियमित हुनुपर्ने, विद्यालयको वार्षिकोत्सव मनाउनु पर्ने लगाएतका माग राखिएको अखिल क्रान्तिकारी कक्षा १० का इकाइ अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिनुभयो ।
नगर उपप्रमुख विमलकुमार पुनले यसमा सहजिकरण गरेर पठनपाठन सुरु गर्न पहल गर्ने बताउनुभएको उहाँको भनाई छ । तत्काल विद्यालयको पठनपाठन सुचारु नभए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।