Kakhara सबैको खबर सम्पूर्ण खबर
उपाध्यक्ष र वडाध्यक्ष सहित तीन जना गुमाएपछि शाेकमा पुथाउत्तरगंगा गाउँपालिका

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले उपाध्यक्ष र वडाध्यक्ष सहित ३ जना व्यक्ति गुमाएको छ । आज बिहान काठमाडौँबाट रुकुम पूर्व आउँदै गरेको गाउँपालिकाकाे गाडी बागलुङको गलकोट नगरपालिका २ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्सिया भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ बर्सिया आमा गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  ३७ बर्षीय जसबहादुर सिर्पाली रहनुभएको छ । 

गाडी चालक भूमे गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालककाे धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । शुक्रवार बिहान रा १ झ २०० नम्बरको गाडी सडकदेखि ३ सय मिटर तल खेसेको थियो । आमा छोरीको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो । वडाध्यक्षको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो । 

उपाध्यक्ष बुढा आमालाई उपचारका लागि काठमाडाैँ लिएर जानुभएकाे थियाे । आमाकाे उपचार र आफ्नाे काम सकेर गृहजिल्ला फर्किने क्रममा आमा छाेरी नै कहिले नफर्किने गरी अस्ताएका छन् । आकस्मिक दुर्घटनाको कारण गाउँपालिकाले नसोचेको क्षति बेहोर्नु परेको गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताउनुभयो । 'पालिकाले यति ठुलो क्षति बेहोर्नुपर्छ भन्ने हामीले सोचेका थिएनौ, आकस्मिक ठुलो क्षति बेहोर्नु पर्‍यो, दुई जना जनप्रतिनिधि सहित तीन जना व्यक्ति गुमाउनुपर्‍यो सिंगाे पालिका शोकमा छ’ अक्ष्यक्ष घर्तीले भन्नुभयो । 

'सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो । त्यस पश्चात पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना पर्‍यो भन्ने खबर पायौँ, सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो । केहि बेरमा मृत्युको खबर प्राप्त गर्‍यौँ  हाम्रो पालिका र हामी स्तव्ध भएका छौँ पालिकालाई अपूरणीय क्षति पुगेको छ उहाँले थप्नुभयाे ।' 

अहिले अध्यक्ष घर्ती सहित गाउँपालिको टोली घटनास्थल गइरहेको छ । बागलुङको बुर्तिवाङ पुगेको र २, ३ घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । घटनास्थल पुगे पश्चात् शव रुकुम पूर्व ल्याइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update