रुकुम पश्चिममा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा जिल्ला स्तरीय संविधान दिवस मूल समारोह समिति गठन गर्नुका साथै दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको हो । निमित्त जिल्ला समन्वय अधिकारी जितबहादुर ओलीका अनुसार असोज १, २ र ३ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने संविधान दिवस मूल समारोह समितिले निर्णय गरेको छ ।
असोज १, २ र ३ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सङ्घसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र सम्पूर्ण कार्यालयमा दीप प्रज्वलन गर्ने निर्णय भएको ओलीले बताउनुभयो । दिवस विशेष मुख्य कार्यक्रम भने असोज ३ गते बिहान साढे ७ बजे हुने छ । जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुख, संस्थाका प्रमुख, विद्यार्थी समेतको उपस्थितिमा खलङ्गामा प्रभातफेरि र मञ्चको कार्यक्रम गर्ने निर्णय भएको निमित्त जिल्ला समन्वय अधिकारी ओलीले जानकारी दिनुभयो ।
खलङ्गाको त्रिवेणी चोक देखि जिल्ला समन्वय समितिसम्म प्रभातफेरी गर्ने र त्यसपछि जिल्ला समन्वय समितिमै मञ्चको कार्यक्रम गर्ने निर्णय भएको उहाँले बताउनुभयो । जिल्लाका सबै पालिकाहरूमा पनि दिवस मनाइने छ । पालिकामा सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा मन्त्रालयबाट भएको पत्राचार अनुसार विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको छ । २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको अवसरमा हरेक वर्षको असोज १, २ र ३ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गरिन्छ ।