रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाले मोटरसाइकल बगाउँदा ज्यान गुमाएका दुई जनाका परिवारलाई जनही २ लाख राहत प्रदान गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मोटरसाइकल चालक मुसिकोट ६ कानेवाङकी ३२ बर्सीया निर्मला केसी थापा र मुसिकोट नगरपालिका ४ ठाराढुंगाका ५२ वर्षीय सर्जन पुनका परिवारलाई जनही २ लाखका दरले राहत प्रदान गर्ने निर्णय गरेको हो ।
विपत् पीडित राहत र उद्धार सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ को दफा २ को (क) बमोजिम जिल्ला प्रशासन कार्यालयले विपत् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई राहत प्रदान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । निर्मला र सर्जनको भाद्र २३ गते राती मुसिकोट ७ को साँखबाट मासु लिएर मोटरसाइकलमा वडा नम्बर ६ को कानेवाङ तर्फ आइरहेको बेला दुई वडाको सिमानामा पर्ने रम्मा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । उनीहरूको शव भाद्र २४ गते बिहान ८ बजेतिर खोलामा फेला परेको थियो ।