रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अटो व्यवसायीको सङ्ख्या धेरै भएपछि नगरपालिकाले अर्को व्यवस्था नभएसम्म अटो रिक्सा थप गर्न नपाइने निर्णय गरेको छ । अटो रिक्सा सञ्चालन समितिले नगरपालिकामा अटोको सङ्ख्या पुरा भएकाले थप नगर्ने निर्णय गरेको हो । नगरपालिकामा अटोको सङ्ख्या पुरा भएकाले अव अटो रिक्सा थप गरेमा दर्ता नहुने निर्णय भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा ५२ वटा अटो रिक्सा दर्ता भएर सञ्चालनमा रहेका छन् । मुसिकोट नगरपालिकाको १४ वटै वडाको विभिन्न ठाउँमा अटो सञ्चालन हुने गरेका छन् । नगरपालिकामा अटो सञ्चालन गर्न दर्ता गर्दा १० हजार रुपैयाँ र प्रत्येक वर्ष नवीकरण गर्दा ७ हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
आवश्यक भन्दा बढी अटो सञ्चालनले जोखिम बढ्ने भएकाले अटो रिक्सा थप नगर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।