Kakhara सबैको खबर सम्पूर्ण खबर
विपत्मा परी ज्यान गुमाएका र घरमा क्षति भएका पीडित परिवारलाई राहत वितरण

रुकुम पश्चिममा विपत्मा परी ज्यान गुमाएकाका परिवारलाई ११ लाख नगद राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुनजन्य विपत्मा परी ज्यान गुमाएका ६ जनाका परिवारलाई २ लाखका दरले राहत प्रदान गरेको हो । ६ जनाका परिवारले ११ लाख राहत पाएका हुन् । 

यसमा ५ जना मृतकका परिवार हुन भने एक जना बेपत्ताका परिवार रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको आठबिसकोट नगरपालिका १२ की मनीषा सार्की, वडा नम्बर १२ कै एकै घरका धनिशा पुन र हितमाया पुन, सोही वडाकै चन्द्रबहादुर पुन तथा मुसिकोट ७ का तेजबहादुर बुढाका परिवारलाई नियमानुसारको राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार खोलाले बगाएर बेपत्ता आठबिसकोट नगरपालिका १२ का डिल्लीबहादुर बुढाथाेकीका परिवारलाई पनि नियममा व्यवस्था भए अनुसारको २ लाख राहत उपलब्ध गराइएको छ । एकै घरका दुई जनाको हकमा ३ लाख र अन्य ४ जनाको हकमा जनही २ लाखका दरले गरी कुल ११ लाख राहत प्रदान गरिएको उहाँको भनाई छ । यी सबै खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका तथा बेपत्ता भएका हुन् । 

विपत् पीडित राहत र उद्धार सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ को दफा २ को (क) बमोजिम र बेपत्ताको हकमा राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ असार ३१ गतेको निर्णय तथा नेपाल सरकार, गृह मन्त्रालय, शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाको २०८० साउन ४ गतेको पत्र अनुसार राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । यसलाई आज बसेको जिल्ला व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको छ । 

यसैबिच मनसुनजन्य विपत्का कारण घर, बहाल र आवास नष्ट भएका ७ घर परिवारलाई समेत राहत वितरण गरिएको छ । क्षतिको अवस्था हरेर उक्त परिवारलाई १५ देखि २० हजार गरी कुल एक लाख ३० हजार राहत वितरण गरिएको र उक्त निर्णयलाई आजको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको पन्तले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update