कोलाहल सहर छिचोल्दै बिचबाट कलकल बगिरहेको खोला । सुनसान खोज्दै त्यसैको बगरमा बसिरहेकी २०/२१ वर्षकी युवती । झट्ट हेर्दा केही पर्खिरहे जस्तो लाग्ने । यो उमेरमा ऊ के पर्खिरहेकी होली ?
खोला सजाउन किनारमा टक्क अडिएका बगैँचाको काखैमा बसेका फल्याकहरूतिर नियालेँ, उसले पर्खिरहेको मान्छे । अरू पर्खिरहेको जस्तो देखिने कोही थिएन । फेरि फर्किएर ऊ टोलाइरहेको ठाउँमा हेरेँ, त्यही बेला डिलका आशु लतपताएर ऊ पछाडि फर्किई ।
वास्तै नगरेजस्तो गरी पहिले आएकै बाटो फर्किएँ । केही समयपछि उसले चाल नपाउने गरी उसलाई क्यामेरामा कैद गरे । हतारमा खिचिएको तस्बिर थियो त्यो । डरै डरले खिचिएको थियो । रहर र उत्सुकताले खिचिएको थियो । मनको डरले त्यही अडाइराख्न सकेन, ऊबाट टाढिंदै जाँदा नजरहरू उसको नजरमा मिल्न खोजिरहे । तर, नजर जुध्नु अगावै पाइला आफ्नै गतिमा चल्न थालिहाले ।
गुरुत्वाकर्षण बलका कारण सूर्यले पृथ्वीलाई आफूतिर तानेजस्तो उसको रहस्यमयी बसाइले मलाई ऊतिर तानिरहेको थियो । तर, समयले ठीक उसको विपरीत डोर्याउन सुरु गरिसकेको थियो ।
ऊ बसेको ठाउँ आँखाले नभेट्ने भएपछि मनले उसका बारेमा अनेकन् सोच्न भ्यायो । ऊ त्यसरी किन बसेकी होला भन्ने विषयमा आफ्नै सिद्धान्तमा रही परिकल्पना प्रतिपादन गर्न थाल्यो ।
साँच्चै उसले कसलाई पर्खिएकी होला ? एकान्तमा एक्लै टोलाउन कसलाई पर्खिएको हुनुपर्छ ? उसको बसाइ र उसले रोजेको कोलाहलबिचको त्यो सुनसान ठाउँलाई हेर्दा उसको मनमा अनेकन् पीडा भएको म सजिलै अनुमान गर्न सक्छु । यो उमेरमा उसलाई के पीर परेको होला ?
क्याम्पस जान आँटेकी वा क्याम्पस हापेर त्यो युगल जोडी रमाउने पार्कमा एक्लै बसिरहेकी उसलाई हेर्दा ऊ पारिवारिक जिम्मेवारीले थिचिएको जस्तो लागी । बाबा आमासँगै रहने उमेरमा ऊ बिरानो सहरमा सङ्घर्ष गरिरहेकी छे । पारिवारिक समस्या र बिरानो सहरको संयोजन कम्ता भयावह हुन्छ ? सायद उसले नचाहँदा नचाहँदै पनि आँखालाई झुक्काएर झरिदिने आँसुले पनि उसको सङ्घर्षलाई प्रतिनिधित्व गर्न खोजेको होला ।
फेरि सोचेँ त्यसका लागि उसलाई यही ठाउँ किन रोज्नु पर्यो ? कोठा होला, त्यहीं पनि त टोलाएर बस्न सक्थी । फेरी सम्झिएँ उसलाई पढाइको पीरले पनि सतायो कि ? हप्तैपिच्छे आउने जाँचको मारमा पो परेकी हो कि ? आफूसँगैका साथी विदेश गएर रमाइरहेको देख्दा उसलाई नेपालमै बसेर पढ्नु र अवसर नदेख्नुमा आत्मग्लानि पो भएको हो कि ? खै त्यस्तो पनि होइन होला । उमेर त्यति धेरै सोच्नका लागि परिपक्व भइसकेको पनि त छैन । हुन त उमेर र परिपक्वता भिन्नै हुन् भन्ने लाग्छ । परिपक्व अनुभवले बनाउँछ । परिपक्व परिस्थितिले बनाउँछ । परिपक्व समयले बनाउँछ । परिपक्व हुन कुनै उमेर आवश्यक पर्दैन ।
त्यसोभए किन त्यसो गरेकी होली ? कसैलाई गुमाएको पीर पो हो कि ? युगल रमाउने पार्कमा कोही गुमाएको पीर पोख्न कसलाई गुमाएको हुनुपर्छ होला ? सायद उसको मस्तिष्कले कसैसँग त्यही ठाउँमा रचिएका पल भण्डारण गरेको राखेको होला । तिनै पलहरू भुल्न उसले त्यो ठाउँ रोजेको हुनुपर्छ ?
होइन उसले समय पर्खिएको हुनुपर्छ । त्यस्तो समय जसले मनलाई शान्त बनाउन् सकोस् । त्यस्तो समस्या जसले हरेक पीडा भुलाइदिन सकोस् । त्यस्तो समय जसले खुसी ल्याइदेओस् । ठूलो बन्ने होडमा खेल फालिएका अमूल्य पल फिर्ता ल्याइ आफू बन्न मद्दत गरोस् । त्यस्तो समय जसले खडेरी लागेको मनमा आशाका नयाँ पालुवामा पलाइदिन सकोस् । त्यस्तो समय जसले उसलाई उसको कर्तव्य र दायित्व सम्झाओस् । जिन्दगी नै धरापमा पारी पाएका अमूल्य सिकाइलाई वास्तविक जीवनमा कार्यान्वयन् गरोस् ।
अँ साँच्चै कसैले एकान्त रोजिरहँदा मैले किन उसका लागि अनावश्यक सोचेँ होला ? ऊ त्यसरी रमाउन पनि नपाउनु ?
लेखक टेक पाना डट्कममा कार्यरत पत्रकार हुनुहुन्छ ।