रुकुम पश्चिमको चौरजहारी नगरपालिका सहित कर्णालीका तीन पालिका सम्मानित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको हो । प्रभावकारी सेवा प्रवाह, पालिकासँगको समन्वय र कार्य प्रगतिको आधारमा उत्कृष्ट पालिका र कर्मचारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको टोलीले शुक्रवार सुर्खेतमा सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षाको अवसरमा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा नगरपालिकालाई सम्मान गर्नुभएको हो । सम्मान हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका रोजगार संयोजक कृष्णप्रसाद शर्मा, सल्यानको कपुरकोट गाउँपालिकाका रोजगार संयोजक बिपना बुढामगर र हुम्लाको सर्केगाड गाउँपालिकाका रोजगार संयोजक हस्तबहादुर मल्ललाई कदर पत्रले सम्मान गरिएको हो । भने पालिकालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
तीन वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सञ्चालन भएका योजनाहरूको कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएदेखि कर्मचारी तथा पालिकालाई सम्मान गरेको यो पहिलो पटक हो । नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ साल चैतदेखि सुरु भएको थियो ।
कार्यसम्पादनलाई उत्कृष्ट बनाउन क्रियाशील कर्मचारी, जनप्रतिनिधि, रोजगार कार्यक्रममा सूचीकृत व्यक्ती, रोजगारदाता, रोजगार कार्यक्रम कार्यान्वयन गर्ने उपभोक्ता समितिका पदाधिकारीसहित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई चौरजहारी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।