रुकुम पश्चिममा विभिन्न कारणले ६ वटा पसलमा क्षति पुग्दा करिब ३५ लाखको नोक्सानी भएको छ । आगलागी तथा पहिरोले पसल बगाउँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । ५ वटा पसल सदरमुकाम मुसिकोटका रहेका छन् भने एउटा पसल त्रिवेणी गाउँपालिकाको हो ।
मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलामा अविरल वर्षाका कारण ४ वटा घुम्ती पसल पहिरोले बगाएको थियो । भाद्र २१ गते बेलुकी ७ बजेतिर राप्ती राजमार्ग अन्तर्गत पातुखोलामा धनकुमारी खत्री, पिउकली कामी, अस्मिता खड्का केसी र सेविका बोहरा केसीको पसल पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
२१ गते राती नै जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा मेवालाल ओलीको पसलमा विद्युत् लाइन सर्ट भई आगलागी भएको थियो । पहिरोले बगाएका र आगलागी भएका पसलमा करिब ३० लाख बराबरको क्षति भएको प्रहरी मुचुल्का तयार भएको छ । त्यस्तै मुसिकोट ५ शेरिगाउँमा रहेको दुर्गाबहादुर बोहराको पसलमा आगलागीबाट क्षति भएको थियो ।
उक्त आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । यी सबै पसलमा खुद्रा तथा खाद्यान्न गरी ३५ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । आवश्यक राहतको लागि प्रदेशमा सिफारिस गरिएको उहाँको भनाई छ ।
शुक्रवारको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट क्षति भएका पसलको राहतका लागि उपभोक्ता हित संरक्षण कार्यालय, रुकुम पश्चिम मार्फत कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा माग गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।