Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा आज देखि वडा स्तरीय महिला तथा पुरुष भलिबल सुरु हुँदै

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा आज देखि वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै छ । रुकुम पश्चिम भलिबल केन्द्रले गत वर्षबाट सुरु गरेको ‘जनक सुदन स्मृति कप भलिबल’को दोस्रो संस्करण आज देखि सुरु हुन लागेको हो । पूर्व भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गत वर्ष देखि ’जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गरिरहेको छ । 

दिउँसो १ बजे मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गर्ने बताइएको छ । प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिम, जाजरकोट, रोल्पा, रुकुम पूर्व लगायत जिल्लाका २४ वटा टिमले प्रतिस्पर्धा गर्न लागेको आयोजकले जनाएको छ । महिला तर्फ भने ८ टिमको सहभागिता रहने छ । 

प्रतियोगिता जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुने छ । यो वर्ष पुरुष तर्फको पुरस्कार केही घटाइएको छ भने महिला तर्फ खुला प्रतिस्पर्धा बनाउँदै पुरस्कार बढाइएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बुढाले जानकारी दिनुभयो । गत वर्षको पहिलो संस्करणमा विजेता पुरस्कार १ लाख ५१ हजार, उप विजेता पुरस्कार १ लाख १ हजार र तेस्रो पुरस्कार ५१ हजार रहेको थियो । पुरुष तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् । 

त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको भनाई छ । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छ । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ । 

महिला तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद ३ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान २ हजार पुरस्कार पाउने छन् । गत वर्ष महिला तर्फ विजेता पुरस्कार ५१ हजार, उपविजेता पुरस्कार ३१ हजार र तेस्रो पुरस्कार २१ हजार रहेको थियो । 

यो प्रतियोगिता वडा स्तरीय हो । यो वर्ष पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय र महिला तर्फ भने खुला रहेको आयोजकले जानकारी गराएको छ । पुरुष तर्फ रुकुम पूर्व र रोल्पाका वडाहरूले पनि भाग लिने पाउने बताइएको छ । पहिलो संस्करणको उपाधि पुरुष तर्फ बागलुङको निसिखोला गाउँपालिका २ र महिला तर्फ बाँफिकोट गाउँपालिका ४ ले जितेको थियो ।       

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update