Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्ड महिला पुरुष भलिबल सुरु 

दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्ड भलिबल सुरु भएको छ । रुकुम पश्चिम भलिबल केन्द्रले गत वर्षबाट सुरु गरेको ‘जनक–सुदन’ स्मृति कप भलिबलको दोस्रो संस्करण आज देखि सुरु हुन लागेको हो । पूर्व भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गत वर्ष देखि ’जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गरिरहेको छ । 

शिल्डको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । शिल्डको उद्घाटन गर्दै नगर प्रमुख केसीले यो प्रतियोगिताले रुकुम पश्चिमको भलिबल विकासका लागि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष पहिलो संस्करण सुरु हुँदा यसको निरन्तरतामा शङ्का देखिएको भए पनि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले शिल्डको दोस्रो संस्करण गरेर त्यसलाई चिरेको र यसको अझै निरन्तरताको समेत उहाँले कामना गर्नुभयो ।

मुसिकोट नगरपालिका समग्र खेलकुदको विकासका लागि अग्रसर रहेको र निजी क्षेत्रबाट हुने यस्ता प्रतियोगिताले खेलकुदको विकासका टेवा पुग्ने विश्वास समेत उहाँले राख्नुभयो । कार्यक्रमका विशेष अतिथि बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले केही गर्छौँ भनेर लागेका निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आफूहरूले पालिकाको तर्फबाट कुनै न कुनै रूपमा खेलकुदका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरू र खेलाडीलाई समेत सहयोग गरिरहेको उहाँले जानकारी गराउनुभयो । 

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मुसिकोट २ का वडाध्यक्ष दिनेश खड्का, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, सशस्त्र प्रहरी निरीक्षक झक्कु शर्मा, रेफ्रि पवनकुमार शाही, अधिकारकर्मी जीवन खड्का लगायतको आतिथ्यता रहेको थियो । 

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका सचिव भीम ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । कार्यक्रममा विजयश्वरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

शिल्ड आज उद्घाटन भए पनि प्रतिस्पर्धा भने भोली बिहान देखि हुने आयोजकले जनाएको छ । शिल्डमा पुरुष तर्फ रुकुम पश्चिम, जाजरकोट, रोल्पा र रुकुम पूर्वका २४ तथा महिला तर्फ ८ टिमको सहभागिता रहेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिएमले जानकारी दिनुभयो । शिल्ड जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुने छ । पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बुढाले जानकारी दिनुभयो । पुरुष तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको भनाई छ । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छ । 

महिला तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद ३ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान २ हजार पुरस्कार पाउने छन् । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ । यो प्रतियोगिता वडा स्तरीय हो । यो वर्ष पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय र महिला तर्फ भने खुला रहेको आयोजकले जानकारी गराएको छ । पुरुष तर्फ रुकुम पूर्व र रोल्पाका वडाहरूलाई पनि सहभागिताका लागि अवसर दिइएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update