(घटना वृत्तान्त ...)
हप्ता दिन अगाडि आफ्नो काम विशेष गृह जिल्ला आइ पुगेको थिए । सदरमुकाम पुग्ने बित्तिकै यहाँका एक जना बाल अधिकार कर्मी बाट यो केश बारे जानकारी पाए । घटना सुन्दा निकै भावुक भइयो र व्यस्त समयका बाबजुद पनि तन मन सबै लगाएर घटनाको अनुसन्धान, यथार्थता र विस्तृत जानकारी सङ्कलन तर्फ लागे ततपश्चात् बाँफिकोट गाउँपालिका वडा न.३ का १२ वर्षका बालक सुरेन्द्र धिताल लामो समय देखि चौरजहारी नगरपालिका वडा न.१ नयाँ बसपार्कको विष्ट होटेलमा श्रम शोषणमा परि आएका रहेछन् । निजकी आमा ५ वर्ष अगाडि अर्कै सङ्ग बिहे गरेर सम्पर्क विहीन छिन र बाबा पनि दोस्रो विवाह गरेर २ वर्ष देखि भारत बस्दै आइरहेको छन् यद्यपि कुन ठाउँमा र अवस्था छन् त्यो पनि थाहा छैन । १२ वर्षका सुरेन्द्रलाई उनका बाबा भारत जाँदा उनको ठुलो बाबा कहाँ छाडेर गएका थिए जसले सुरेन्द्रलाई पिट्ने, गोठालो पठाउने खान लगाउन नदिने गर्दा रहेछन् त्यस कारण सुरेन्द्र १२ वर्षको उमेर मा नै घर छाडेर हिँड्न बाध्य परे । सुरेन्द्र कि ८ बर्षे बहिनी पनि छिन जो मावली हजुर आमा सङ्ग रहँदै आइरहेकी छिन ।
१२ बर्षे बालक जो यो उमेर मा पारिवारिक समस्या र नाजुक अवस्थाका ठुलो कारण बिरानो ठाउँमा कुनै पर्बाह नगरी घर छाडेर हिँड्न बाध्य भएका थिए र होटेल मा श्रम शोषणमा परिरहेका थिए जसलाई जानकारी पनि छैन श्रम के हो र बाल श्रम शोषण भनेको के हो जसलाई यति थाहा छ खानको लागि काम गर्नु पर्छ, काम गर्दा खान पाइन्छ जसको फाइदा उठाउँदै एक जमातले बाल श्रम शोषण गरिइरहन्छ निरन्तर गरिरहन्छ नै ।
मैले सबै जानकारी पाए पश्चात् प्रहरी कार्यालयमा रिपोर्ट गरे ततपश्चात् भोलि पल्ट नै उनलाई त्यहाँको स्थानीय प्रहरीले जिल्ला प्रहरीलाई बुझायो उनी एउटा च्यात्तिएको टिसर्ट, सुरुवाल र चप्पल मा थिए उनको उद्धार भइरहेको छ भन्ने उनलाई थाहा थिएन सायद तर उनको बाल मनस्थितिले उनलाई घर आउनलाई रोकिरहेको थियो उनी रोइ रहेका थिए कराइरहेका थिए घर आउन पछि उनलाई उनको ठुलो बाबा सङ्ग नराख्ने पढाउने अनि बहिनी सङ्गै मावल मा राख्ने भनी सके पश्चात् शान्त मात्र भए केबल मौन रहे र घार आउने सङ्केत गरे तर उनको मन अझै मानिरहेको थिएन ।
बाँफिकोट सम्म आइपुग्दा उनी चुपचाप रहिरहे उनलाई के खाने केही किन्ने के मन पर्छ भनेर सोध्दा उनी केवल मौन बसिरहे मौसम निकै चिसो थियो । उनलाई वर्ष भर पुग्ने शैक्षिक सामग्री विद्यालय पोसाक र झोला पहिले नै मैले किन्दिसकेको थिए । बच्चा हुँदा नयाँ कपडा किन्नलाई आमाबाबा सङ्ग जबरजस्ती गर्ने, कपडा किन्दा निकै खुसी हुने गरेको पलहरू अझै याद छ मलाइ मैले उनलाई कपडा किन्न जाने भनेर प्रश्न गरे उनको अनुहारमा कुनै खुसी देखिएन उनलाई त्यो कुराले कुनै मतलब गरेन केबल हुन्छ भनेर उत्तर दिए कपडा किन्न जाँदा एक जना प्रहरी पनि सङ्गै जानु भयो त्यस बेला सुरेन्द्र सङ्ग झन् नजिक हुने अवसर मिल्यो ।
मैले उनको बाल बाल मनस्थितिलाई अनुकूल बनाउँदै रमाइला रमाइला कुरा गरे उनले सहज रूपमा उत्तर दिए अनि मलाइ उनले प्रश्न पनि गरे १) तपाई को हो ? २) मेरी बहिनी अहिले कहाँ छे तपाईँलाई थाहा छ ? मैले उत्तर दिए अनि मैले उनलाई मन पर्ने कुरा बारे सोधे सुरेन्द्र लाई भलिबल खेल्न निकै मन पर्दो रहेछ । मैले अर्को प्रश्न पनि गरिहाले तपाईँको सपना के छ ? उनी उति बेला जि.प्र.का एक प्रहरी ले दिएको प्रहरी कै पोसाक मा थिए उनको उत्तर थियो ठुलो भएर पुलिस भन्ने । मैले भने प्रहरी बन्न त पढ्नुपर्छ नि उनले अब म पनि पढ्छु भने फेरि उनले भने अरू के के गर्नुपर्छ मैले भने अब अरू चाहिँ हामी सङ्गै भएका पुलिस अङ्कल लाई सोध्ने है अनि प्रहरी ले सहज ढङ्गले उत्तर दिनुभयो । हाम्ज बजार गएर सुरेन्द्रकी लागि कपडा किनेर फिर्ता भयौ । साँझको करिब ८ बजिसकेको थियो पानी परिरहेको कारण उनलाई बुझिलिनका लागि उनको वडाका अध्यक्षले असमर्थता जनाउनु भयो र भोलि बिहान आउने कुरा जनाउनु भयो । त्यस कारण म पनि आफ्नो घर फर्किनु पर्ने भयो म घर फर्कँदा उनले प्रहरी सङ्ग नबसेर म सङ्गै जाने कुरा गरे तर सुरक्षा सङ्गै उनको मानसिक रूपमा कुनै असर नहुने वातावरण मिलाएर उनलाई एक रात इ.प्र.का मा नै रहने व्यवस्था मिलाइयो ।
यसपछि म घर फर्कन लाई साढे आठ मा बाँफिकोट बाट हिँडे निकै रात परिसकेको थियो मोबाइल पनि अफ भैसकेको थियो उसै पनि रात देखि डराउने म, रातमा हिँड्न यात्रा गर्न निकै डराउने म त्यति बेला भने मलाइ सुरेन्द्रको र सुरेन्द्र जस्तै हजारौँ असहाय अनाथ र यस्तै पिडामा परि रहेका बालबालिकाहरूको सुरक्षा र भविष्यले डर लाग्यो त्यो कुराले डराइ रह्यो सताइ रह्यो । र मन मा अनेकन् कुरा खेलाउँदै घर फर्किए ।
आज उनलाई १० कक्षा सम्म निःशुल्क शिक्षा,शैक्षिक सामाग्री र लत्ताकपडाको व्यवस्था गाउँ बाल क्लब सञ्जाल समिति बाँफिकोट र ३ नम्बर वडा कार्यालयले गर्ने व्यवस्था मिलायौ । र उनलाई उचित पारिवारिक वातावरणका साथ लालन पोषणका निम्ति उनको मावली हजुर आमालाई बुझाउने सम्झौता अनुसार वडा अध्यक्ष ले बुझिलिनु भएको छ । जसले उनको शैक्षिक सुनिश्चितता र बाल मनस्थितिमा सकारात्मकता ल्याउने छ ।
यो त केबल एक प्रतिनिधि मूलक घटना भयो यस्ता घटनामा,घटना हुनुमा र घटना हुन नदिनुमा कसको जिम्मेवारी ??
सायद म,तपाई र हामी तसर्थ बाल अधिकार हामी सबैको सरोकार को विषय हो ।
यस्ता घटना हुनुमा प्रथमतः परिवार र आमा बाबाको दोष हुन्छ,हुन जान्छ जहाँ पारिवारिक सम्बन्ध विच्छेदका कारण बालबालिका अनाथ जसरी जीवन जिउन बाध्य छन् र यसले बाल श्रम शोषण, शिक्षा बाट वञ्चित दुर्व्यसनीकाे सिकार जस्ता थुप्रै समस्या निम्त्याएको छ ।
र हाम्रो समाजमा एउटा यस्तो वर्ग पनि छ जो आफू समृद्ध भएर पनि निमुखाको शोषण गर्न छाड्दैन र श्रमको मूल्य नै दिन जान्दैनन् जसले बालबालिका पनि भन्दैन श्रम गराइरहन्छ शोषण गरिरहन्छ त्यस कारण सम्पूर्ण व्यवसायीहरूलाई मेरो प्रश्न के तपाइको व्यवसाय बाल श्रम मुक्त छ ?
हामी सबै सचेत बनौँ कि १८ वर्ष मुनिका कुनै पनि बालबालिका लाई श्रममा लगाउनु कानुन तह:बाल श्रम शोषण हो जुन अपराध हो ।
तपाईँ जो कोहीले पनि यस्तै बाल श्रम शोषण भइरहेको देख्नुभएको छ भने निःशुल्क हट लाइन नम्बर १०९८ बाल हेल्प लाइन मा अर्थात् नजिकै को प्रहरी कार्यालय,जनप्रतिनिधि लाई समयमै जानकारी गरौँ गराऊ ।।
बालबालिकालाई उचित पारिवारिक वातावरण निर्माण गरौँ,बाल श्रम,बाल विवाह र बालबालिकामाथि हुने सम्पूर्ण समस्या र अपराधलाई निस्तेज पारौँ बाल अधिकारको पूर्ण रूपमा प्रभावकारी कार्यान्वयन गरौँ ।।
"सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार"
घनश्याम राष्ट्रिय किशाेर सञ्चालका अध्यक्ष हुनुहुन्छ भने उहाँ भर्खरै गाेल्छा ग्रुपद्धारा प्रस्तुत ग्लाेकल टिन हिराे २०२४ बन्नुभएकाे थियाे ।