रुकुम पश्चिमको जेठो विद्यालय त्रिभुवन जनता मावि खलङ्गाको वार्षिकोत्सवको छुट्टै रौनक हुन्थ्यो । भाद्र महिनाको अन्तिम साता देखि नै वार्षिकोत्सव विशेष कार्यक्रमहरू हुन्थे । असोज १ गते धूमधामका साथ वार्षिकोत्सव मनाउँथ्यो । जिल्लाको जेठो मात्र नभई जिल्ला सदरमुकाममा अवस्थित रहेको र शैक्षिक गुणस्तरका हिसाबले पनि अब्बल यस विद्यालयको वार्षिकोत्सवलाई जिल्लाले नै चाखपूर्ण रूपमा हेर्ने गर्थ्यो । तर यो वर्ष त्यस्तो कुनै तामझाम भएन । वार्षिकोत्सवको दिन मङ्गलवार विद्यालय सुनसान रह्यो । विद्यालयमा बिदा दिइएको छ । विद्यार्थी, अभिभावक तथा सरोकारवालाले भरिभराउन हुने विद्यालय सुनसान बन्नु चानचुने कुरा होइन । सायद कुनै विपत्ति वा अन्य कुनै कारणले बाहेक सामान्य अवस्थामा विद्यालयको वार्षिकोत्सव रोकिएको यो पहिलो पटक होला ।
विद्यालयको आन्तरिक किचलोका कारण वार्षिकोत्सव रोकिएको हो । यो त देखिने क्रियाकलाप मात्र हो विद्यालय केही वर्ष देखि आन्तरिक किचलोमा चुर्लुम्म डुबेको छ भने यसले शैक्षिक गतिविधि तथा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर गरिरहेको छ । विद्यालयमा पछिल्लो समय जुन गतिविधि भइरहेका छन् त्यसले सिङ्गो विद्यालयको साख गुम्दै गएको छ । जिल्लाको अभिभावक र सबैको केन्द्रमा रहेको विद्यालय नै आन्तरिक किचलोले नराम्ररी गाँजिएपछि विद्यार्थी, अभिभावक तथा सरोकारवाला चिन्तित छन् । विद्यालयमा कार्यरत ५ जना कर्मचारी प्रधानाध्यापक गोपीराम केसीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलनमा छन् । यही कारण देखाएर विद्यालयको वार्षिकोत्सव रोकिएको हो । वार्षिकोत्सव विद्यालयको उत्सव मात्र नभई विद्यार्थीको क्षमता प्रस्फुटन हुने महत्त्वपूर्ण मञ्च हो । हप्ता दिनसम्म विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार विभिन्न क्रियाकलापमा भाग लिन्थे । विद्यार्थीको क्षमताको कदर हुन्थ्यो । तर यो वर्ष भने त्यो अवसर पनि विद्यालयले खाेसेकाे छ ।
विद्यालय प्रशासनले कर्मचारीको आन्दोलनकै कारण वार्षिकोत्सव रोकिएको दाबी गरेको छ । वार्षिकोत्सवको पेरिफेरीमा तालाबन्दी गरेकाले वार्षिकोत्सवमा असर परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताउनुभयो । कर्मचारीको तलब मात्र नभएर विद्यालयमा आन्तरिक समस्या थुप्रै रहेकाले समस्या समाधानको लागि आफूहरू लागिरहेको उहाँको भनाई छ ।
साता दिन देखि तालाबन्दी
गत भदौ २७ गतेदेखि लगाएको ताल अझै खुल्न सकेको छैन । लामो समयसम्म तलब नपाएको भन्दै विद्यालयमा ५ जना कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनासम्मको तलब नपाएको भन्दै आन्दोलित ५ कर्मचारीले प्रधानाध्यापक गोपीराम केसीको कार्यकक्षमा भदौ २७ गते तालाबन्दी गरेका थिए ।
गैर कानुनी रूपमा संविधानमा व्यवस्था गरेको मौलिक हक तथा श्रम ऐन विपरीत पारिश्रमिक नदिएको भन्दै आफूहरू आन्दोलित भएको र एक हप्ता पुग्न लाग्दासम्म पनि विद्यालय प्रशासनले यस विषयमा चासो नदेखाएको आन्दोलित मध्येका एक विद्यालय कर्मचारी जयराम थापाले बताउनुभयो । भदौ २८ गते समस्या समाधानको निम्ति नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रअ गोपीराम केसी र आन्दोलित कर्मचारीलाई छलफलका लागि बोलाए पनि समस्याको समाधान नभएको थापाले जानकारी दिनुभयो ।
कानुनको बर्खिलाप गर्दै आफूहरूलाई पारिश्रमिक गरेको लाखौँ तलब समेत विद्यालय प्रशासनले नदिएको उहाँको आरोप छ । बेरुजु देखिएको रकम घटाएर आफूले पाउनुपर्ने रकम पाउनु पर्ने माग राख्दा समेत आफूले परिश्रम गरेको रकम नपाएको आन्दोलनरत कर्मचारीको भनाई छ । आफूहरूले पाउने तलब नपाएसम्म प्रअ केसीको कार्यकक्षमा लगाएको ताला नखोल्ने समेत कर्मचारीको अडान रहेको छ । विद्यालयको पठनपाठनलाई भने असर नपुर्याएको उनीहरूको भनाई छ । विद्यालयका प्रशासनिक अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर केसी सहित रमा शाह, डमरबहादुर महत र दुर्गबहादुर खड्काले तलब नपाएको भन्दै प्रअको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ । आफूहरूलाई शिक्षक तथा विद्यार्थीहरूको समेत सहयोग रहेको बताएका छन् । यस विषयमा नगरपालिका, राजनीतिक दल, प्रशासन, प्रहरी, शिक्षा विकास लगायतलाई ध्यानाकर्षण गर्दा समेत कुनैले चासो नदेखाएको उनीहरूको भनाई छ । मुसिकोट नगरपालिकामा भदौ २८ गते छलफल भएकाले आफूहरूको समस्याको समाधानको निम्ति नगरपालिकाले विद्यालयलाई पत्राचार गर्ने र समस्या हल हुनेमा आशावादी रहेको र नगरपालिकाको निर्णय पर्खिरहेको उनीहरूको भनाई छ । ‘‘विद्यार्थीहरू सँगको लडाई होइन, आफूले पाउनुपर्ने परिश्रम नपाएकोले विद्यालय प्रशासनसँगको लडाई हो, हामीले तलब नपाउँदा सम्म हाम्रो लडाई जारी रहन्छ ’’ आन्दोलित कर्मचारी थापाले भन्नुभयो ।
विद्यालय भन्छ तलब खुवाउन पैसा छैन
विद्यालयको खातामा पैसा छैन । स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय समिति तथा सरोकारवालालाई जानकारी बनाएका छौ, सरोकारवालाको छलफलबाट समस्याको समाधान हुन्छ । स्थानीय सरकारले आर्थिक व्यवस्थापन गर्यो भने समस्याको समाधान हुन्छ विद्यालयको खातामा रकम छैन तलब कहाँबाट दिने उहाँले भन्नुभयो । यस विषयमा छलफल भइरहेपनि असोज १ गते यस विषयमा पेशी तोकिएकाले पर्खिएका थियौँ, पेशी स्थगित भयो, अब अदालती प्रक्रिया हुँदै गर्छ, समाधानको लागि सरोकारवालासँग छलफल गर्छौँ विव्यस अध्यक्ष केसीले भन्नुभयो । विद्यालयको खातामा रकम नभएकाले कर्मचारीलाई तलब खुवाउन नसकिएको उहाँको भनाई छ । स्थानीय सरकार, शिक्षा विकास समन्वय इकाई तथा सरोकारवाला सबैलाई जानकारी गराएकाले सबैसँग छलफल गरेर अगाडी बढ्ने विद्यालयले जनाएको छ । कर्मचारीको तलब नपाएको मात्र नभई विद्यालयको रकम हिनामिना भएकाले छानबिन गर्ने समेत विद्यालयले जनाएको छ ।
आर्थिक स्रोत नभएको र नियम विपरीत भर्ना गरिएको भन्दै विद्यालयले २०८० कार्तिक १४ गते प्रशासनिक अधिकृत जयराम थापालाई जिम्मेवारी मुक्त गरेको थियो भने लेखापाल ठकबहादुर बुढाथोकीलाई अवकाश दिएको थियो । साथै अन्य कर्मचारीलाई स्थायीबाट करारमा झारेको थियो । यसका विरुद्धमा उनीहरू उच्च अदालत सुर्खेत गएका थिए । अदालतले उनीहरूको पक्षमा २०८० फागुन ९ गते र २०८१ को वैशाख ३० गते अन्तरिम आदेश दिएको थियो । त्यसपछि उक्त कर्मचारीहरू विद्यालयको काममा फर्किएका थिए ।
सम्बन्धित समाचार
- त्रिजमाविका २ कर्मचारीलाई अवकाश, केही स्थायीबाट करारमा, सहायक प्र.अ. केसी जिम्मेवारी मुक्त
- त्रिजमाविका कर्मचारीलाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश
- अख्तियारको छानबिनमा त्रिजमावि
- विव्यस अध्यक्ष केसीलाई कारबाही गर्न त्रिजमाविका बहुमत शिक्षकको माग
- त्रिजमाविको विव्यस मुसिकाेट नगरपालिकाद्वारा विघटन
- उच्च अदालतको अन्तरिम आदेश-नरेन्द्र केसीलाई त्रिजमाविकाे विव्यस अध्यक्षका रुपमा काम गर्न दिनु
- त्रिजमाविको सामाजिक लेखापरीक्षण कार्यक्रम स्थगित
- त्रिजमाविको निमित्त प्रअ नियुक्ति विरुद्धको रिट खारेज