रुकुम पश्चिममा पनि १० औँ राष्ट्रिय संविधान दिवस मनाइएको छ । बिहिबार प्रभातफेरी तथा मञ्चको कार्यक्रम गरेर संविधान दिवस मनाएको हो । जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाको संयुत आयोजनामा संविधान दिवस मनाएको हो । कालिकास्थानबाट प्रभातफेरी कार्यक्रम सुरु गरी तल्लो बजार, जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर मञ्चको कार्यक्रममा परिनत भएको थियो ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अदालत रुकुम पश्चिमका न्यायधिश रामप्रसाद बस्यालले नेपालको संविधान उत्कृष्ट निर्माण भएकाले संविधानको अन्तिम लडाई लडिरहन आवश्यक नरहेकोले संविधानलाई राम्रो ढंगले कार्यान्वयन गर्न तर्फ ध्यान दिनुपर्ने बताउनुभयाे । संविधान उत्कृष्ट निर्माण भएकाले नतिजा राम्रो दिने तर्फ सवैले ध्यान दिनुपर्ने बताउनुभयो । विज्ञ समुहबाट निर्माण भइ जनताका हक अधिकार सुनिश्चित गर्न संविधान सभाबाट निर्माण भएको नेपालको वर्तमान संविधान पहिलो संविधान भएको उहाँले बताउनुभयो ।
२०७२ सालको संविधान निर्माण हुनुभन्दा पहिला राजा तथा शासकबाट जारी गरिएको संविधान जनतालाई शासन दिने गरी बनाएकोले धेरै समयसम्म नटिकेको र वर्तमान संविधान जनताले आफैले लेखेको संविधान उत्कृष्ट र समावेशीता भएकाे न्यायाधिश बस्यालले बताउनुभयो । ‘‘ नेपालको संविधानले सवै क्षेत्रमा समावेशीता, महिलालाई ३३ प्रतिशत अधिकार, महिलाप्रति हुने विभेद अन्त्य गरी हरेक ठाउँमा समावेशी सिद्धात अनुसार जनताका हक अधिकारका विषयलाई संविधान भित्र समावेश गरेको छ ।’’
‘‘संविधानले आफैले नतिजा दिदैन, संविधानलाई सहि ढंगले चलाएपछि मात्र नतिजा सहि दिन्छ । बर्तमान संविधानका कुनै पनि विषय खराब र नराम्रो छैनन्, कार्यान्वयनको पाटोलाई जोड दिनुपर्छ’’ बस्यालले भन्नुभयो । संविधान आफैमा साध्य नभएकाले सहि ढंगले कार्यान्वयन र परिचालन गरेमा जनता र सरकारको सम्बन्धलाई बलियो बनाउने उहाँको भनाई थियो । संविधान कार्यान्वयनबाट जनताका अधिकार सपन्न हुँदै जाने र निरंकुश सरकारको अन्त्य गर्दै जनताका अधिकार सुनिश्चिता हुँदै जाने भएकाले सवैले आआफ्नो ठाउँ संविधानको पालन गर्नुपर्ने न्यायाधिश बस्यालले बताउनुभयो ।
सविधानमा भएको व्यवस्था कसरी कार्यान्वय गर्ने संस्थागत विकास गरेर सविधानलाई कसरी अगाडी बढाउने भन्ने कुरा मनन गरेको जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले बताउनुभयो । पहिलाको संविधान भन्दा वर्तमान नेपालको संविधान सबैभन्दा उत्कृष्ट संविधान निर्माण भएको उहाँले बताउनुभयो । जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले सविधान सभाबाट संविधान पारित गरेर निर्माण भएकाले पछाडी पारिएका जनसमुदायलाई समेटदै हक अधिकारको सुतिश्चित गर्र्दै विश्वमै उत्कृष्ट सविधान निर्माण भएको समन्वय प्रमुख गौतमले बताउनुभयो । संविधान कार्यान्वयनको पक्षमा लागिरहेको उल्लेख गर्दै सवैलाई अधिकार सपन्न गर्ने संविधान निर्माण भएकाले सवैले पालना गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपालको संविधानले आम नेपाली जनताको अधिकारलाई सुनिश्चित गरेकाले कार्यान्वयनको पक्षमा सबैको महत्वपुर्ण भुमिका हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । नेपालको संविधानले कुनै सानो ठुलो नभनेर समान तरिकाले अधिकार दिएको उल्लेख गर्दै कार्यान्वयवमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान सहि ढंगले कार्यान्वय गर्ने कुरामा सवैले हातेमाले गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पन्तको भनाई थियो ।
कार्यक्रमका अन्य सहभागिहरुले पनि संविधानमा व्यवस्था भएका विषय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सुरक्षाकर्र्मी, निजामती कर्मचारी, लगायतको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिकाका कानुन अधिकृत ललित बुुढाले गर्नुभएको थियो । यसै विच रुकुम पश्चिमका अन्य स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाएका छन् ।