Kakhara सबैको खबर सम्पूर्ण खबर
पुरुष तर्फ दशरथ र महिला तर्फ सीता उत्कृष्ट 
दशरथ चन्द र सीता सिंह ।

दशरथ चन्द र सीता सिंह उत्कृष्ट खेलाडी घोषित भएका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा सञ्चालित दोस्रो जनक–सुदन स्मृति कप भलिबल रनिङ शिल्डमा पुरुष तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का दशरथ उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । उहाँको उत्कृष्ट प्रदर्शनमा बाँफिकोट गाउँपालिका वडा नम्बर ३ ले शिल्ड हात पारेको छ । मुसिकोट खलंगाको बराहटाकुरामा सोमबार भएको फाइनलमा छिमेकी बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई ३–० को सोझो सेटमा पराजित गर्दै शिल्ड हात पारेको हो ।

त्यस्तै महिला तर्फ सानीभेरी गाउँपालिका ४ की सीता सिंह उत्कृष्ट खेलाडी बनेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । सानीभेरी ४ लाई विजेता बनाउन सीताले उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन । सानीभेरी ४ ले फाइनलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई ३–१ को सेटमा पराजित गरेको थियो । त्यस्तै प्रतियोगितामा अन्य खेलाडी पनि व्यक्तिगत इभेन्टमा पुरस्कृत भएका छन् ।

पुरुष तर्फ वेस्ट स्पाइकर बाँफिकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ का प्रेम केसी, वेस्ट सर्भर बाँफिकोट ३ का मानव विक, वेस्ट सेटर बाँफिकोट गाउँपालिका ३ कै सम्पूर्ण मल्ल, वेस्ट ब्लकर बाँफिकोट ३ का लक्की मल्ल र वेस्ट वेस्ट डिफेन्डर बाँफिकोट गाउँपालिका ४ का राजन विक घोषित भएको आयोजकले जनाएको छ । महिला तर्फ वेस्ट सर्भर सानीभेरी ४ की निरुता शाही, वेस्ट स्पाइकर बाँफिकोट गाउँपालिका ४ की निर्मला विक, वेस्ट सेटर बाँफिकोट ४ कै हरिमाया ओली, वेस्ट ब्लकर बाँफिकोट ४ की सीता विक र वेस्ट लिवेरोमा सल्यानकी आशा बुढाथोकी बनेको आयोजकको भनाई छ ।

पुरुष तर्फको वेस्ट प्लेयरले ५ हजार र अन्यले ३ हजार पुरस्कार पाउँदा महिला तर्फको वेस्ट प्लेयरले ३ हजार र अन्यले २ हजार पुरस्कार पाएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । असोज १ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सकिएको छ । पुरुष तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र महिला तर्फ बाँफिकोट गाउँपालिका ४ ले शिल्ड हात पारेका छन् । पुरूष तर्फ बाँफिकाेट गाउँपालिका ४ उपविजेता, बाँफिकाेट २ तेस्राे बन्दा महिला तर्फ बाँफिकाेट गाउँपालिका ४ उपविजेता र सल्यान तेस्राे भएका छन् । 

पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको अध्यक्ष बुढाको भनाई छ । निर्विवाद शानदार रूपमा प्रतियोगिता सकिएको उहाँको भनाई छ । प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद समेत दिएको छ । पूर्व खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गत वर्षबाट यो प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिता पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय थियो भने महिला तर्फ भने खुला रहेको थियो । पुरुष तर्फ २४ र महिला तर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update