रुकुम पश्चिममा भलिबलको क्रेज कति छ भन्ने कुरा जिल्लामा आयोजना हुने भलिबल प्रतियोगिता हेरे पुग्छ । जुनकुनै खाले प्रतियोगिता हेर्नका लागि ठुलो सङ्ख्यामा मानिसहरू ओर्लिने गर्छन् । टोल हुँदै वडा, पालिका र जिल्ला स्तरीय प्रतियोगिता हेर्न ठुलो भीड लाग्ने गर्छ । रुकुम पश्चिममा सबैभन्दा लोकप्रिय खेल नै भलिबल हो भन्दा फरक पर्दैन । यसै कारण जिल्लामा लाग्ने लगभग एकाध बाहेक सबै मेला महोत्सवमा भलिबल प्रतियोगिता छुट्दैन । वर्षभरिको हिसाब गर्ने हो भने जिल्लामा दर्जनौँ भलिबल प्रतियोगिता आयोजना हुने गरेका छन् भने पुरस्कार तथा सञ्चालन खर्च लगायत गरी आधा करोड बढीको कारोबार हुने गरेको छ । तर यसरी आयोजना हुने अधिकांश प्रतियोगिता निजी क्षेत्रबाटै भइरहेका छन् ।
सोमबार मात्र जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले दोस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड सम्पन्न गरेको छ । यो प्रतियोगिता कर्णाली प्रदेश भित्रका वडा स्तरीय थियो । रुकुम पूर्व र रोल्पालाई पनि अवसर दिइएको थियो । महिला तर्फ भने खुला प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुष तर्फ २४ र महिला तर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए । यसमा रोचक त के भयो भने पुरुष तर्फको सबै पुरस्कार बाँफिकोट गाउँपालिकाले जित्यो । शिल्ड वडा नम्बर ३ ले जित्दा वडा नम्बर ४ उप विजेता बन्यो भने वडा नम्बर २ तेस्रो बन्यो ।
व्यक्तिगत इभेन्टमा पनि पुरुष तर्फ सबै पुरस्कार बाँफिकोट गाउँपालिकाकै खेलाडीले प्राप्त गरे । पुरुष तर्फ उत्कृष्ट खेलाडी वडा नम्बर ३ का दशरथ केसी घोषित हुँदा वेस्ट स्पाइकर वडा नम्बर वडा नम्बर ४ का प्रेम केसी, वेस्ट सर्भर वडा नम्बर ३ का मानव विक, वेस्ट सेटर वडा नम्बर ३ कै सम्पूर्ण मल्ल बने । महिला तर्फ पनि बाँफिकोट गाउँपालिका ४ दोस्रो बन्यो । महिला तर्फ व्यक्तिगत इभेन्टमा समेत बाँफिकोटका खेलाडी हाबि रहे । वेस्ट स्पाइकर, वेस्ट सेटर र वेस्ट ब्लकर बाँफिकोट ४ का खेलाडी बने । वेस्ट स्पाइकर निर्मला विक, वेस्ट सेटर हरिमाया ओली र वेस्ट ब्लकर बनिन ।
टिम सहभागिताका हिसाबले पनि बाँफिकोट गाउँपालिका नै अग्र स्थानमा रह्यो । पुरुष तर्फ वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ६, वडा नम्बर ७ र वडा नम्बर ८ गरी एउटै पालिकाबाट ५ वटा वडाले सहभागिता जनाए । जसमध्ये वडा नम्बर ६ र ८ मात्र असफल भए भने अन्य सबै वडाले स्थान प्राप्त गरे ।
जिल्लामा भलिबलमा बाँफिकोट र सानीभेरीको कडा टक्कर छ । तुलनात्मक रूपमा अन्य पालिका कमजोर छन् । यसअघिका प्रतियोगितामा सानीभेरी गाउँपालिका हाबी हुने गरे पनि यस पटक भने बाँफिकोट हाबी भएको छ । तेस्रो भएको बाँफिकोट २ ले यो पटक उपाधी दाबेदार सानीभेरी गाउँपालिका ४ लाई पराजित गर्यो भने क्वाटरफाइनलमा बाँफिकोट ३ ले सानीभेरी ३ लाई पराजित गरेर सेमिफाइनल प्रवेश गर्न दिएन । जिल्लामा हुने हरेक जसो वडास्तरीय प्रतियोगितामा सानीभेरी र बाँफिकोटै टक्कर छ । जसमा यसअघि सानीभेरी नै हाबी देखिएको थियो ।
बाँफिकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रकाश खत्री खेलाडीलाई मनोबल मात्र बढाइदिने हो भने पनि धेरै हुने बताउनुहुन्छ । सरकारले हामी छौं, तिमीहरू अघि बढ भनेर खेलाडीलाई हौसला मात्र दिने हो भने खेलाडीले आफ्नै बल बुतामा धेरै गर्न सक्ने उहाँको भनाई छ । यो पटक वडाका खेलाडीका लागि वडाले पहिलो पटक खेल पोसाकको व्यवस्था देखि अन्य व्यवस्थापन गरेको र नजिता पनि राम्रो आएको वडाध्यक्ष खत्रीले बताउनुभयो । खेल क्षेत्रको विकासका लागि सरकारको ध्यान जान नसकेको उहाँ स्विकार्नुहुन्छ । खेलकुदको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा त्यसो गर्न नसकिएको उहाँको भनाई छ ।
बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा पनि सरकारको तर्फबाट खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि कुनै ठोस पहल हुन नसकेको बताउनुहुन्छ । जनक–सुदन स्मृति कपकै उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा उपस्थित बाँठाले आफै सरकारमा रहेको तर आफैले खेलाडीको लागि धेरै गर्न नसकेको स्विकार्नुभएको थियो । उहाँ सटफुटको पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हो । तर आफूले चाहेर पनि खेलकुदको विकासका लागि धेरै गर्न नसकेको उहाँको भनाई छ । प्रयास नै नभएको भन्न चाही नहुने उहाँ बताउनुहुन्छ । ‘सुरुवात त भएको छ, तर यसलाई बढाउनुपर्छ, यसमा सबैको हातेमालो आवश्यक छ, उहाँ भन्नुहुन्छ–सरकारले थोरै पुस गर्ने हो भने खेलाडीले राम्रो गर्छन्, समग्र खेल क्षेत्रको विकास हुन्छ, हामीले गरिरहेको त्यही हो ।’