नेकपा माओवादी केन्द्रका नेता, पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जिल्ला स्थित आइसोलेसन तथा अस्पतालको अनुगमन गर्नुभएको छ । विहीबार जिल्ला अस्पतालको समग्र अवस्था बारे जानकारी लिनु भएका शर्माले शुक्रबार चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका अस्पताल, कोभिड आइसोलेसनको अवस्थाबारे जानकारी लिनुभएको छ ।
चौरजहारी नगरपालिका स्थित चौरजहारी अस्पताल, अस्पतालले सञ्चालन गरेको कोभिड आइसोलेसन वार्ड, नगरपालिकाले सञ्चालन गरेका आइसोलेसन वार्डको अवलोकन गर्नुभएको छ । यसैगरी सानीभेरी गाउँपालिका अस्पताल, गाउँपालिकाले सञ्चालनको तयारी गरेको आइसोलेसन वार्डको अवलोकन र त्यसबारे पनि उहाँले जानकारी लिनुभएको छ ।
चौरजहारी स्थित आइसोलेसनमा रहेका संक्रमितसँग उनिहरुको स्वास्थय अवस्था, उपचार लगायतका विषयमा कुराकानी गर्नुभएको थियो । यस अवसरमा चौरजहारी अस्पतालका निर्देशक कालेब बुढा, नगरप्रमुख विशाल शर्मा, सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले संक्रमितको संख्या, उपचारको अवस्था, समस्या र भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो ।
त्यसपछि सांसद शर्माले हालसम्म जिल्ला स्थित स्थानीय सरकार, स्थानीय प्रशासन, स्थानीय तहले गरिरहेको प्रयासको प्रशंसा गर्नुभयो । हालसम्म आइसोलेसन सञ्चालन, संक्रमित विरामीको उपचारको व्यवस्थापनमा गरिएका पहलका बारेमा जानकारी गराउनुभएको छ । यसको साथसाथै आगामी दिनमा कसरी जाँदा धेरैको उपचार गर्न सकिन्छ र त्यसको व्यवस्थापनमा कसले के गर्न सक्छ भन्ने बारे बताउनुभएको थियो ।
चौरजहारीमा थप आइसोलेसन व्यवस्थापनका लागि चौरजहारी एयरर्पोटको भवन प्रयोग गर्न सकिने र त्यसको अवस्थाबारे पनि स्थलगत अवलोकन भएको थियो । आवश्यक परेको खण्डमा उक्त भवन पनि प्रयोग गर्न सकिने भएको छ । निर्माण भएदेखि उक्त भवन प्रयोगविहीन छ । अनुगमल अवलोकनमा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमसिङ धामी लगायतको टोली पनि सहभागि थियो ।