Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविको ताला खुल्यो,  के भयो  सहमति ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयमा लगाएको ताला खोलिएको छ । विद्यालय प्रशासन र पीडित कर्मचारी बीच सहमति भएपछि प्रधानाध्यापकको कार्यकक्षमा लगाएको ताल बिहिवार खोलिएको हो । पीडित कर्मचारीले पाउन बाकी तलब भता यहि असोज १३ गते भित्र दिने सहमति भएपछी ताला खोलिएको त्रिजमविका प्रधानाध्यापक गोपिराम केसीले जानकारी दिनुभयो ।

सहमति पत्रमा  मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, विद्यालय व्यवस्थापन समिति सदस्य रमेश खड्का, शिक्षक हरिप्रसाद खनाल, डिल्लीबहादुर  खड्का, संगम केसी र चन्द्रबहादुर खड्काको रोहवरमा विद्यालयको तर्फबाट प्रअ केसी र पीडित कर्मचारीको तर्फबाट जयराम थापाले सहमति पत्रमा हस्ताक्षर  गर्नुभएको छ ।

मुसिकोट नगरपालिका र नगर शिक्षा समितिको असोज ७ गतेको बैठकले तलब भत्ता भुक्तानी र विद्यालयमा लगाएको ताला खोल्न निर्देशन सहित पत्र पठाएको थियो । सोही अनुसार तलब भत्ता यहि असोज १३ गते भुक्तानी गर्ने र ताला खोल्ने सहमति भएको हो ।``नगरपालिकाले तलब भत्ता भुक्तान गर्न र ताला खोल्न पत्र पठाएको थियो, सोही अनुसार सहमति भएर ताला खोलिएको छ, १३ गते सम्म तलब नपाएका कर्मचारीलाई तलब भत्ता भुक्तान गर्न पहल गर्छौ, उहाँहरुलाई दिने तलब मात्र २६ लाख रुपैयाँ छ, विद्यालयको खातामा १२ लाख रुपैयाँ मात्र छ´´ प्रअ केसीले भन्नुभयो ।

``पीडित कर्मचारी बाहेक अरु ८ जना करार कर्मचारीलाई साउनदेखि यता तलब खुवाउन सकिएको छैन, तलब भत्ता भुक्तानको लागि संघसंस्था तथा स्थानीय सरकारले सहयोग नगरुजेल समस्या हल हुने  सम्भावना देखिदैन´´ उहाँले भन्नुभयो ।

११ महिनासम्मको तलब भत्ता नपाएका पीडित कर्मचारीहरुले भने सहमति भएको मितिसम्म तलब भुक्तान नबनाए थप कडाइका साथ बन्दका कार्यक्रम संचालन गर्ने चेतावनी दिएका छन । विद्यालयका प्रशासनिक अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर केसी सहित रमा शाह, डमरबहादुर महत र दुर्गबहादुर खड्काले गत मंसिर  महिनादेखी तलब नपाएपछि  गत भदौ २७ गते प्रअ केसीको कार्यकक्षमा ताला लगाएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update