Kakhara सबैको खबर सम्पूर्ण खबर
शिल्ड विजेता खेलाडीलाई सम्मान

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट १ बराहाटाकुरामा गत सोमबार सम्पन्न भएको दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्डमा विजय हासिल गर्ने बाँफिकोटका खेलाडीलाई बधाई ज्ञापन तथा स्वागत गरिएको छ ।

बुधवार ५ नम्बर वडाको खार खोलामा बधाई तथा स्वागत कार्यक्रम गरिएको हो ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी चन्द्रबहादुर केसीले खेलाडीलाई बधाई तथा स्वागत कार्यक्रमको आयोजना गर्नुभएको थियो। खेलाडीलाई हौसला प्रदान गर्नको लागि उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो। बाँफिकोटमा पनि खेलाडी रहेछन् भन्ने सन्देश जिल्लामा पुगेको र बाँफिकोटवासीको सिर उच्च राखेको उहाँको भनाइ थियो । 

यस्तै बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले खेलाडीले पालिकाको नाम राखेको बताउनुभयो । खेलाडीलाई सहयोगको हिसाबले पालिका सरकार कतै नचुक्ने पनि उहाँले बताउनुभयो । आगामी दिनहरूमा खेल सामग्री, खेल पोसाक तथा खेल मैदान निर्माणमा सरकार अग्रसर हुने उहाँको भनाई थियो ।  

जनक–सुदन’ स्मृति कप रनिङ शिल्डको दोस्रो  संस्करण पुरुष तर्फ  बाँफिकोट ३ प्रथम, बाँफिकोट ४ दोस्रो र बाँफिकोट २ तेस्रो तथा महिला तर्फ बाँफिकोट ४ दोस्रो भएको थियो। 

पूर्व खेलाडी शारदा मल्लको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केसी, बाँफिकोट ३ का पूर्व वडा अध्यक्ष केसी, समाजसेवी, खेलाडी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update