Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू महोत्सवमा आज गायक टंक तिमिल्सिनाकाे प्रस्तुती रहने 
गायक टंक तिमिल्सिना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बिचमा पर्ने स्यार्पु ताल नजिकै १४ औं बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव शुक्रबार देखि सुरु भएको छ । महोत्सव शुक्रबारदेखि सुरु भएपनि आजबाट भने राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन आज चर्चित गायक टंक तिमिल्सिनाको प्रस्तुती रहने महोत्सव मुल समारोह समितिका अध्यक्ष डेनी विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा गायक तिमिल्सिनाको प्रस्तुती सँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । ‘‘जल जमिन जडिबुडी कृषि कला सांस्कृति र खेदकुद विकास मुख्य आधार, स्यार्पू ताल संरक्षण विकास हाम्रो कार्यभार’’ भन्ने मुल नाराका साथ शुक्रबारबाट सुरु भएकाे महाेत्सव असोज २३ गतेसम्म चल्ने छ । बाँफिकोट गाउँपालिको आयोजना तथा वडा युवा तथा खेलकुद समितिको सह –आयोजनामा बाँफिकोट गाउँपालिका वडा नम्बर  ६ मा रहेको कुसारी उन्नत बाख्रा पालन फर्म र वडा नम्बर ३ दहमा रहेको सेपिन्स होटेल एण्ड लजको व्यवस्थापन महोत्सव संचालन भइरहको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक बाँफिकोट गाउँपालिकाले जनाएको छ । महोत्सवमा नायक विराज भट्ट, अभिनेता पल शाह, हास्यकलाकार धुमुस सुन्तली, चर्तित लोक दोहोरी गायक राजु परियार, कुलेन्द्र विक, ज्योति मगर, समिक्षा अधिकारी, रामजी खाँड, सिम्रन परियार, बद्री पगेनी, कमला धिमिरे लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । बाँफिकोट गाउँपालिकाले २०६७ सालदेखि हरेक वर्ष  स्यार्पूमा महोत्सव लगाउँदै आइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update