Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा खुला पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सानीभेरी गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता कार्तिक ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता पालिका स्तरीय खुला हो भने एउटा पालिकाले २ जनासम्म पालिका बाहिरका खेलाडी राख्न पाउने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता टेनिस बलले खेलाइने छ । प्रतियोगिताको विजेताले नगद ६० हजार, उप विजेताले नगद ४० हजार र तृतीय हुने टिमले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । साथै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । म्यान अफ द सिरिजले ३ हजार, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले समान २ हजार, मेडल र प्रमाण पत्र पाउने छन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नकालले बताउनुभयो । खेल सानीभेरी गाउँपालिका ३ को बेलटापु खेल मैदानमा सञ्चालन हुने बताइएको छ ।

क्रिकेट खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । यो प्रतियोगिताले रुकुम सहित अन्य जिल्लाको क्रिकेट विकासका लागि टेवा पुग्ने विश्वास गरिएको उहाँको भनाई छ । जिल्लामा पछिल्लो समय क्रिकेट गतिविधि बढेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update