Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीले 'कर्णाली याक्स'को नाममा एनपिएल खेल्ने, प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

कर्णालीले ‘कर्णाली याक्स’ नाममा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएको छ । हिमालयन बिल्डर्सको स्वामित्वमा रहेको कर्णालीले सोमबार झकिझकाउ कार्यक्रमबीच आफ्नो टोलीको नाम, लोगो, क्रिकेट निर्देशकसहित प्रशिक्षण टोली घोषणा गरेको थियो । 

नेपाल क्रिकेट संघले गरेको बिडिङमा हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा कर्णालीको स्वामित्व लिएको थियो । झनकदत्त खनाल प्रमुख रहेको कर्णाली याक्सको निर्देशकमा गृहेन्द्र घिमिरे रहनुभएको छ ।

मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएलको पहिलो संस्करणमा ‘लक्की ड्र’ बाट कर्णालीले सोमपाल कामीलाई मार्की खेलाडीको रूपमा पाएको थियो । कर्णालीले क्रिकेट निर्देशक र मुख्य प्रशिक्षकको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान मल्ल हाल नेपाल ‘ए’ टिमका प्रशिक्षक हुनुहुन्छ । कर्णाली टोलीसँग आबद्ध हुन पाउँदा आफू निकै उत्साहित भएको बताउँदै उहाँले यसले आफूलाई जिम्मेवार बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रिमियर लिग नेपाली क्रिकेटको बेन्चमार्कको रूपमा रहने छ ।’ 

कर्णालीको प्रशिक्षण टोलीमा राजु बस्न्यात कन्सलटेन्ट प्रशिक्षक, रवि थापा टेक्निकल एनालिस्ट र लोकेन्द्र कुँवर फिजियोको रूपमा रहनुभएको छ । कर्णालीका प्रमुख खनालले एनपीएल नेपाली क्रिकेटको क्रान्तिको रूपमा रहने बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update