Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका विद्यालयबिचमा मैत्रीपूर्ण भलिबल र ब्याडमिन्टन सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को सल्लेमा रहेको सरस्वती माविमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाल शिक्षक महासंघ मुसिकोटको आयोजनामा मङ्गलवार देखि भलिबल, डबल ब्याडमिन्टन र घैँटोफोर प्रतियोगिता सुरु भएको हो । मुसिकोट नगर प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

भलिबल तर्फ १४ वटा टिमले भाग लिएको नेपाल शिक्षक महासंघ मुसिकोटका सह अध्यक्ष तथा प्रतियोगिता संयोजक टिकाराम विष्टले जानकारी दिनुभयो । समग्रमा मुसिकोट नगर भित्रका १६ वटा विद्यालयले भाग लिएको उहाँको भनाई छ । उहाँका अनुसार भलिबल तर्फ प्रथमले २० हजार, द्धितियले १५ हजार र तृतीयले १० हजार पुरस्कार पाउने छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । 

डबल ब्याडमिन्टन तर्फ प्रथमले १२ हजार, द्धितियले ८ हजार र तृतीयले ६ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिता संयोजक विष्टले बताउनुभयो । त्यस्तै महिला शिक्षकका लागि घैँटोफोर प्रतियोगिता आयोजना गरिएको छ । खेलकुदका माध्यमबाट विद्यालयका बिचमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र दसैँ, तिहार जस्ता चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिता बिहीबार सम्पन्न गर्ने लक्ष राखिएको छ । नेपाल शिक्षक महासंघ मुसिकोटका अध्यक्ष यज्ञबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख र नगर शिक्षा अधिकृत बिनाराम खड्काको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मुसिकाेट नगरपालिका वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, नेकपा माओवादी केन्द्र मुसिकाेटका अध्यक्ष दलबहादुर खड्का, सरस्वती मावि सल्लेका प्रअ खम्बुसिंह थापा, विव्यस अध्यक्ष डम्बर थापा लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे । उद्घाटन कार्यक्रमको सञ्चालन महासङ्घका सचिव गणेश नाथ योगीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update