Kakhara सबैको खबर सम्पूर्ण खबर
नयाँ सिडिओ जिसीद्धारा पत्रकारसँग अन्तरक्रिया, पत्रकारको के छ सुझाव  ?

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जिल्लास्थित क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । नयाँ प्रजिअको रूपमा सरुवा भएर आउनुभएका जिसीले मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा बोलाएर पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित पत्रकारहरूले प्रजिअ जिसीलाई स्वागत सँगै सल्लाह सुझाव दिएका छन् ।

जिल्ला सदरमुकाममा रहेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्नुपर्ने, राप्ती राजमार्ग अन्तर्गत पर्ने पितिवाङ खोलामा अलपत्र अवस्थामा रहेको पुल निर्माणको कामलाई अगाडी बढाउनु पहल गर्नुपर्ने, जिल्लामा रहेका अन्य अलपत्र योजनाहरूको काम सञ्चालन गर्ने गरी पहल थाल्नुपर्ने लगायतका सुझाव दिएका छन् । 

​त्यस्तै भूकम्प गएको झन्डै एक वर्ष पुग्न लाग्दासम्म केही पीडितले पहिलो किस्ता नपाएको, दोस्रो किस्ता पनि सबै लाभग्राहीले पाउन नसकेको प्रति पनि ध्यानाकर्षण गराएका छन् । जिल्ला सदरमुकाम खलङ्गाको त्रिजमााविको विषय उठान गर्दै सामुदायिक विद्यालयमा विव्यस अध्यक्ष लगायत विद्यालय प्रशासनको चरम लापरबाहीको विरुद्ध पनि प्रशासनले कदम उठाउनु पर्ने सहभागी पत्रकारको सुझाव थियो । 

प्रमुख जिल्ला अधिकारी जिसीले पत्रकारहरूले उठाएका माग जायज रहेको बताउँदै सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो । यस्ता खालका सल्लाह सुझावले आफूलाई काम गर्न थप सहयोग  हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्लामा देखिएका समस्या समाधानको निम्ति पत्रकारहरूको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले यसमा हातेमालो गरेर अगाडी बढ्नुपर्ने प्रजिअ जिसीको भनाइ थियो । 

अन्तरक्रियाको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले शाखाको स्मारिका र मिडिया डायरी प्रजिअ जिसीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रजिअ जिसी, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, जिल्लास्थित क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । प्रजिअ जिसी गृह मन्त्रालयबाट सरुवा भएर  सोमबार आउनुभएको हो । 

WhatsApp-Image-2024-10-01-at-17.02.44_a6375a34-1727785959.jpg
WhatsApp-Image-2024-10-01-at-17.02.42_5512ff54-1727785959.jpgWhatsApp-Image-2024-10-01-at-17.02.40_351b913c-1727786006.jpg

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update