Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा ४५ बेडको आइसोलेसन तयार
आइसोेलेसनमै गएर यस बारे बताउँदै नगरप्रमुख विशाल शर्मा ।

कोरोना संक्रमितको उपचारका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ४५ बेडका आइसोलेसन तयार पारेको छ । विभिन्न तीन ठाउँमा १५/१५ बेडका आइसोलेसन तयार भएका हुन् । आइसोलेसनमा केही संक्रमितको उपचार समेत भइसकेको छ ।

भूगोल क्षेत्र हेरेर तीन ठाउँमा आइसोलेसन तयार पारेको नगरप्रमुख विशाल शर्माले जानकारी दिनुभयो । २ नम्बर वडाको सेवा केन्द्र, ७ नम्बर वडाको कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र र १० नम्बर वडाको खोलागाउँमा आइसोलेसन वार्ड तयारी हालतमा राखेको उहाँले जानकारी दिनुभयो ।

आइसोलेसनका केही बेडामा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर समेत जडान गरिएको छ । अरु अक्सिजन खरिद गर्ने पहल भइरहेको नगरप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले हरेक बेडमा एक सेट आधारभुत स्वास्थ्य सरसफाईका सामग्री पनि राखिदिएको छ । एउटा टाबेल, ब्रस,मञ्जन, सरव र साबुन पनि संक्रमितको लागि हरेक बेडमा राखिएको छ । 

खोलागाउँ आइसोलेसनमा एक जना डाक्टर छन् । कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दी रहेका डाक्टरलाई पनि बोलाइएको छ । सेवा केन्द्रको आइसोलेसनमा आवश्यक परेपछि चौरजहारी अस्पतालकै डाक्टरले हेर्नगरी मिलाइएको नगरप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाका ४५ र चौरजहारी अस्पतालका १८ गतरी नगरपालिकामा ६३ बेडको आइसोलेसन तयारीमा छ । अस्पतालका १४ बेड सामान्य छन् भने ४ बेड अक्सिजन सहितका विशेष बेड छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update