Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा ग्रामीण सडक मर्मत सुरु, दसैँ अघि नै सबै सडक मर्मत गरिसक्ने 

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ग्रामीण सडक मर्मत सुरु गरेको छ । गाउँपालिकाले मङ्गलवार देखि विभिन्न वडाका सडक मर्मतको काम सुरु गरेको हो । मनसुनका कारण बिग्रिएका सडक मर्मतको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

सडक मर्मतका लागि ३ वटा जेसिबि लगाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । वडा नम्बर ५, ६, ७ र ८ मा गरी ३ वटा जेसिवि लगाइएको उहाँको भनाई छ । यी वडामा काम सकिएपछि अन्य वडामा सडक मर्मतको काम सुरु हुने उहाँले बताउनुभयो । बिहीबार देखि बडा दसैँ सुरु हुँदै छ । 

बर्सातले पालिकाका अधिकांश मुख्य तथा सहायक सडकहरू बिग्रिएका छन् । जसका कारण सवारी आवागमन तथा पैदल आवतजावत समेत प्रभावित भएको छ । चाडपर्वमा खाद्यान्न सामग्री ढुवानी तथा मान्छेको आवतजावत बढ्ने भएकोले सहजताका लागि बर्खामा बिग्रिएका सडक मर्मतको काम सुरु गरिएको गाउँपालिकाको भनाई छ । 

सिस्नेमा कुल ८ वडा रहेका छन् । जसमध्ये वडा नम्बर १ र २ मा हालसम्म सडक पुग्न सकेको छैन । अन्य वडाका अधिकांश टोलमा भने सडक पुगेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update