Kakhara सबैको खबर सम्पूर्ण खबर

राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले जनताले महसुस गर्ने गरी काम गर्न रुकुम पश्चिम जिल्लास्थित कर्मचारी तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले जनताले महसुस गर्ने गरी काम गर्न भन्नुभएको हो । 

‘तपाइहरूले राम्ररी सेवा गर्नुभयो भने जनताले सहज महसुस गर्नुहुने छ, म सबैलाई आग्रह गर्दछु, देखिने र जनताले महसुस गर्ने गरी काम गर्नुहोस् उहाँले भन्नुभयो ।’ साथै उहाँले निष्पक्ष रूपमा काम गर्न पनि भन्नुभएको छ । कुनै आग्रह पूर्वाग्रह बिना निःस्वार्थ भावका साथ काम गर्न उहाँले सबै कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

कुन कर्मचारीले कस्तो काम गरिरहेको छ भनेर जनताले मूल्याङ्कन गरिरहेको बताउँदै उहाँले सेवाग्राही सबैलाई समान भावले सेवा गर्न उहाँको आग्रह छ । जिल्लामा को कर्मचारी कति समय बस्यो भन्दा पनि कुन कर्मचारीले कस्तो काम गरिरहेको छ भनेर मूल्याङ्कन हुने उहाँको भनाई थियो । त्यस्तै कर्मचारी तथा अन्य सेवा प्रवाह गर्ने निकाय कसैको प्रलोभनमा पुर्न नहुने उहाँले बताउनुभयो । 

‘विभिन्न स्वार्थ समूहले खेल्न सक्छन्, तपाइहरूलाई विभिन्न प्रलोभन देखाउन सक्छन्, उहाँले भन्नुभयो–तर तपाइहरू निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।’ बिहीबारबाट दसैँ सुरु भएको अवस्थामा शान्ति सुरक्षामा विशेष ध्यान केन्द्रित गर्न उहाँले प्रशासन तथा प्रहरीको ध्यानाकर्षण गराउनुभएको छ । चाडबाडमा शान्ति सुरक्षामा खलल पुग्ने खालका धेरै गतिविधिहरू हुनसक्ने भएकोले यस तर्फ चनाखो हुन उहाँको आग्रह छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update