Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्माको दसैँको शुभकामना: चाडपर्वले राष्ट्रिय विपत्तिबाट माथि उठ्ने प्रेरणा मिलोस् 

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले यो वर्षका चाडपर्वले राष्ट्रिय विपत्तिबाट माथि उठ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । आज बडा दसैँको शुभकामना व्यक्त गर्दै उहाँले जाजरकोट र सुदूरपश्चिमको भूकम्प तथा देशभरमा बाढी, पहिरो, डुबान जस्ता विपत्तिबाट भएको क्षतिको सामना गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले भूकम्प, बाढी, पहिरो, डुबानजस्ता विपत्तिमा परेर ज्यान गुमाएका प्रति श्रद्धाञ्जली, दुःखमा रहेका परिवारजनमा समवेदना र घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । पूर्व मन्त्री समेत रहनुभएका शर्माले यो वर्षलाई कठोर वर्षको संज्ञा दिनुभएको छ । 

‘जाजरकोट र सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पबाट भएको क्षति र देशभरमा बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपत्तिले देशलाई थिलथिलो बनाएको छ, यसबाट हामी माथि उठ्नु छ, पुनर्निर्माणमा जोडिनु छ, चाडपर्वहरू सुरु भएका छन्, उहाँले भन्नुभएको छ–यो वर्षलाई मैले कठोर वर्षको रूपमा लिएको छु, हाम्रा चाडपर्वहरूले यी सबै विपत्तिको सामना गरेर जुरुक्क उठ्ने प्रेरणा मिलोस् ।’ 

साथै उहाँले तिहार लगत्तै भूकम्पपछिको पुनर्निर्माण सुरु गर्ने गरी आफूले सरकारलाई झकझक्याइरहेको बताउनुभएको छ । जाजरकोट भूकम्पले गरेको क्षति र बझाङ भूकम्पले गरेको क्षतिको पुनर्निर्माणका लागि आफूले आवाज उठाइरहेको र तिहार लगत्तै पुनर्निर्माण सुरु गर्न सरकारलाई गम्भीर रूपमा ध्यानाकर्षण गराएको बताउनुभएको छ । 

‘भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी कार्यविधि पास भएको छ, पुनर्निर्माणका लागि काम गर्ने कार्यालय स्थापना गर्ने भनिएको छ, त्यसमा ढिलाइ भइरहेको छ, यसका लागि म दिनहुँ प्रयासमा छु, अब दसैँ लगत्तै कार्यालय स्थापना गर्ने र तिहार लगत्तै पुनर्निर्माणमा जानु छ, त्यसका लागि हामीले आवश्यक तयारी गर्नु छ, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य शर्माले शुभकामना सन्देशमा भन्नुभएको छ ।’ 

यसका साथै उहाँले जिल्लाको समृद्धिका लागि जोडिएका उद्योगहरू छिट्टै सञ्चालनमा आउने पनि बताउनुभएको छ । मुसिकोटको बैरागिठाँटीमा रहेको निर्माणाधीन दुग्ध उद्योग, स्यार्पू हाइड्रोपावरको काम समयमै सम्पन्न हुने र यसले जिल्लाको समृद्धिमा टेवा पुग्ने उहाँले विश्वास दिलाउनुभएको छ । सबै मिलेर अझ थप सङ्घर्ष गर्नु पर्ने अवस्था हाम्रा सामु रहेको शर्माले बताउनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update