Kakhara सबैको खबर सम्पूर्ण खबर
भलिबल ज्ञानोदय माविले जित्यो, ब्याडमिन्टनमा गणेश र यज्ञको जोडी विजेता 

नेपाल शिक्षक महासंघ रुकुम पश्चिम मुसिकोट नगरपालिकाले आयोजना गरेको विद्यालय स्तरीय भलिबल, ब्याडमिन्टन र घैँटो फोर प्रतियोगिता सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ को सल्लेमा अवस्थित सरस्वती माविमा १५ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । पुरुष शिक्षकहरू बिचमा भएको भलिबल प्रतियोगितामा ज्ञानोदय मावि लहुँ प्रथम भएको छ ।

बिहबार भएको फाइनलमा सरस्वती मावि सल्लेलाई पराजित गर्दै ज्ञानोदय मावि प्रथम भएको हो । उसले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा पराजित सरस्वती माविले दोस्रो हुँदै १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यु मुन लाइट बोर्डिङ स्कुल तेस्रो भएको आयोजक नेपाल शिक्षक महासङ्घका मुसिकोट नगर सदस्य चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

ec980a4e-6f05-427b-a2ce-4d5aba9ad0fe-1727968229.jpg
उहाँका अनुसार न्यु मुन लाइटले १० हजार पुरस्कार प्राप्त गरेको छ । भलिबलमा १५ वटा विद्यालयले प्रतिस्पर्धा गरेको खड्काले बताउनुभयो । यस्तै पुरुष शिक्षकहरूका बिचमा भएको डबल ब्याडमिन्टनमा मुसिकोट ५ को यमुना नन्द नमुना मावि शेरीगाउँका गणेश केसी र यज्ञबहादुर खड्काको जोडी विजेता बनेको छ । बिहीबार नै भएको फाइनलमा प्रभात मावि दोपाइको बि टिम विजयकुमार ओली र गंगाराम विष्टको जोडीलाई पराजित गर्दै गणेश र यज्ञको जोडी प्रथम बनेको हो ।

यो जोडीले नगद १२ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उप विजेता विजय र गंगारामको जोडीले ८ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै त्रिभुवन जनता मावि खलंगाका सुनिल शाह र तिलक खड्का तथा प्रभात माविको ए टिम शशिराम घर्ती र शशिराम रोकाको जोडी सान्त्वना भएको छ । उक्त दुवै जोडीले नगद २÷२ हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । स्थान हासिल गर्ने जोडीलाई ब्याडमिन्टनमा पनि ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

8a05ef60-4fc1-4e41-86fc-b29d77015e8d-1727968228.jpg
घैँटो फोर प्रतियोगितामा विजयश्वरी बोर्डिङ स्कुलकी मनराखी विक प्रथम हुनुभएको छ । उहाँले २ हजार नगद प्राप्त गरेको बताइएको छ । एक कार्यक्रमका बिच पुरस्कार वितरण सहित प्रतियोगिताको समापन गरिएको छ । नेपाल शिक्षक महासङ्घका मुसिकोट नगर अध्यक्ष यज्ञबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत बिनाराम खड्का, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का, सरस्वती माविका विव्यस अध्यक्ष डम्बर थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक महासङ्घका मुसिकोट नगर सदस्य द्वय चन्द्रबहादुर खड्का र दयाराम कुसारीले गर्नुभएको थियो ।

Messenger_creation_9791DC02-C0C8-4E33-9EEF-7078206D4E4D-1727969225.jpeg
अब यो प्रतियोगितालाई हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्ने महासंघले जनाएको छ । मुसिकोट नगरपालिकाको शैक्षिक क्यालेन्डरमै समावेश गरेर यो प्रतियोगितालाई नियमित गर्ने लक्ष राखिएको महासङ्घका नगर अध्यक्ष यज्ञबहादुर खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update