नेपाल हिमाल,पहाड र तराईको विविधताले भरिएको एउटा सुन्दर देश हो । नेपाल बहु जातीय,बहुभाषिक,बहु सांस्कृतिक, बहु धार्मिक तथा बहु भौगोलिक विशेषता भएको मुलुक हो ! यहाँ विविध जातजाति, भाषा भाषी, कला, संस्कृति, भेसभुसा तथा परम्पराका मानिसहरूको बसोबास रहेको छ । हिमाल, पहाड र तराई मिलेर बनेको नेपालमा ठाउँ अनुसार संस्कार र संस्कृतिमा फरक छ! यसले नेपाललाई विश्वमा फरक रूपमा चिनाएको छ!अनेकतामा एकता नेपाली समाजको विशेषता हो । बहु सांस्कृतिक विविधता एकताले असल समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खुल्दै आएको छ ! नेपालको सांस्कृतिक विविधताले व्यक्ति,समाज तथा राष्ट्रलाई एउटै एकताको सूत्रमा आबद्ध गर्न सफल रहँदै आएको छ । यी विविध जातजाति, भाषा भाषी, कला, संस्कार, संस्कृति, भेसभुसा तथा परम्पराको अझै अध्ययन,अनुसन्धान तथा खोज हुन सकेको छैन । युगौँ देखि चल्दै आएका प्रथा,परम्पराहरूलाई खोज,अध्ययन तथा अनुसन्धान गरी नयाँ ढङ्गबाट विकास गर्नु अहिलेको आएर मुख्य चुनौतीको विषय बनेको छ । समाजले आफ्नो अस्तित्व,पहिचान तथा मौलिकता कायम राख्नको लागि विविध प्रयासहरू सुरु देखि नै गर्दै आएको देखिन्छ । यी विविध पक्षको विकासको क्रममा विभिन्न समय,ठाउँ तथा कालखण्डमा प्रभावकारी उपस्थित तथा प्रभाव रहँदै आएको देखिन्छ ! नेपालमा १४२ भन्दा बढी जातजाति,१२४ भन्दा बढी भाषा भाषी तथा १० वटा भन्दा बढी धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ । यहाँ जातीय,भाषिक तथा धार्मिक रूपले संस्कार र संस्कृतिमा फरक रहेको छ ।
पूर्वी नेपालको जातीय,भाषिक,चालचलन,भेसभुसा, मूल्य र मान्यता तथा जीवनशैली फरक छ भने पश्चिम नेपालको फरक किसिमको रहेको छ!झापा इलाममा बोलिने भाषा जुम्लामा फरक छ!जुम्लामा बोलिने भाषा मनाङ मुस्ताङमा फरक छ!कालिकोटको देउडा हुम्लामा मिल्दैन,हुम्लाको देउडा जाजरकोटमा मिल्दैन ! हिमालमा पाइने जडीबुटी तराईमा पाइँदैन,तराईमा पाइने चार कोसे झाडी हिमालमा पाइँदैन ! यी र यस्ता बहु सांस्कृतिक पक्षलाई नेपालको पहिचानका रूपमा लिन सकिन्छ ! नेपालीको परिचयको रूपमा लिन सकिन्छ ! यसले नेपाल र नेपालीको शिरलाई उच्च पारेको छ ! यो शिरलाई झुक्न नदिन र अझ उच्च राख्नका लागि झनै एकतामा बाँधिएर नयाँ संस्कृतिको विकास गर्नु पर्ने देखिन्छ । बहुसङ्ख्यक नेपाली जनतामा एकताको भावना निर्माण गरी बहु सांस्कृतिक पक्षलाई अवलम्बन गरी अपेक्षित गुणस्तरको समृद्धि हासिल गर्न सकिन्छ ! एकताको भावनाले राष्ट्र निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाली संस्कृतिले हाम्रा जीवनका यावत विषयलाई समेटेको छ । गुरुलाई मान्नु र ठुलालाई आधार सम्मान एवं आफूभन्दा सानालाई माया स्नेह प्रदान गर्नु हाम्रा संस्कृतिका मुख्य आधार हुन । हामी नेपालीहरू जाति धर्म अनुसार आ-आफ्नै किसिमका भेसभुसा पहिरन लगाउँदै आएका छौ ।
नेपालीहरूको खास भेसभुसा भनेको पुरुष मान्छेको दौरा सुरुवाल कोट र टोपी हो भने महिला मान्छेको गुन्यौ चेली र पटुका हो ! हिमाल,पहाड र तराईवासीहरूको आ-आफ्नै किसिमको पोसाक पहिरन रहेको छ ! हाम्रो संस्कृति आज खानपान,बसाई उठाई चाडपर्व तथा जीवनशैलीका हरेक पक्षमा देख्न पाइन्छ ! नेपाल धर्म निरपेक्ष राज्य भएकाले हरेक जाती समुदायले आफ्नो मौलिक चाडपर्वहरू मनाउन स्वतन्त्र छन् ! विविध जातिहरूको बसोबास रहेको नेपालमा परम्परागत मनाउँदै आइरहेका चाडपर्वहरू मुख्य रूपमा दसैँ,तिहार,तिज जस्ता महत्त्वपूर्ण चाडपर्वहरू हिन्दु समुदायमा बढी प्रचलन रहेको पाइन्छ भने इद मुसलमान समुदायमा बढी प्रचलन रहेको पाइन्छ ! छठ पर्व तराईका मैथिली भाषीहरूले विशेष रूपमा मनाउने गर्छन् भने ल्होसार हिमाल पहाडमा शेर्पा,थकालीहरूले विशेष रूपमा मनाउने गर्छन् ।
हाम्रो देशका विभिन्न विद्धानहरूले अध्ययन,अनुसन्धान,विश्लेषण र विचार गर्ने हो भने नेपाली संस्कृतिको असल परम्पराको विविधतालाई स्वीकार गर्नु पर्छ । विविधतालाई स्वीकार गर्नु आफैमा राम्रो पक्ष हो सबल पक्ष हो ।नेपालको संविधान धारा ३ मा नेपाल बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको कुरा उल्लेख गरिएता पनि यस पक्षलाई अझै अध्ययन,अनुसन्धान तथा खोज गरी नयाँ तरिकाबाट विकास गर्नु पर्ने आवश्यकता छ । यी र यस्ता बहु सांस्कृतिक पक्षको जगेर्ना गर्नु, जोगाई राख्नु र नयाँ ढङ्गले निर्माण गर्नु अहिले आएर मुख्य चुनौतीको विषय बनेको छ । बिस्तारै लोप हुने क्रममा रहेका छन् । पहिलेको पुस्ताले पुस्तान्तरण गर्न खोजे पनि अहिलेको नयाँ पुस्ताले त्यसलाई जोगाई राख्न नसकेको हो कि भन्ने भान हुन्छ । पुरानो संस्कृतिले अहिलेको सामाजिक व्यवस्थाको प्रतिनिधित्व गर्न सक्दैन । अहिलेको समाज,अहिलेको परिस्थिति र अहिलेको समय सुहाउँदो सांस्कृतिक नीति ल्याउनु पर्ने देखिन्छ । केही रुढीवादी कुराहरूलाई पनि संस्कृति सँगै जोडिएको छ । पुरानो संस्कृति अलि वैज्ञानिक भएन कि, अबको संस्कृति वैज्ञानिक तथा समाजवादी संस्कृतिको बनोस् ।
(लेखक रुकुम पश्चिम चौरजहारी नगरपालिका ६ मा अवस्थित मा.वि खागलका लेखापाल हुनुहुन्छ)