Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकामा मारिएका दीपकको परिवारलाई २२ लाख सहयोग रकम हस्तान्तरण

अमेरिकामा मारिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओलीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष हरि चन्द र नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीको नेतृत्वमा सङ्कलन गरिएको सहयोग परिवारलाई हस्तान्तरण गरिएको हो । कुल २२ लाख १७ हजार ५ सय ३२ रुपैयाँ घर परिवारलाई हस्तान्तरण गरिएको छ । घरमै पुगेर वडाध्यक्ष चन्दको पहलमा सङ्कलन भएको १४ लाख ४६ हजार ९ सय ३२ रुपैयाँ र माओवादी केन्द्रका अध्यक्ष केसीको पहलमा सङ्कलन भएको ७ लाख ७० हजार ६ सय रुपैयाँ दीपककी आमा प्रतिमा ओली र बुवा लिले ओलीलाई हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष चन्दको पहलमा परिवारकै सदस्यकै बैङ्क खातामा सहयोग सङ्कलन अभियान थालिएको थियो । यसमा देश तथा विदेशमा रहेका विभिन्न सहयोगी व्यक्तिहरूले सहयोग रकम जम्मा गरिदिएको उहाँले बताउनुभयो । परिवारकै बैङ्क खातामा सहयोग सङ्कलन भएकोले बैङ्क स्टेटमेन्ट हेर्दा उक्त रकम जम्मा भएको पाइएको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो । त्यस्तै माओवादी केन्द्रका पालिका अध्यक्ष केसीले भने आफ्नो पहलमा सहयोग सङ्कलन अभियान चलाएको र त्यसबाट जम्मा भएको रकम दीपकका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । देश तथा विदेशमा रहेका र विशेष गरी अमेरिकामै रहेकाहरूले सहयोग गरेको उहाँको भनाई छ ।

462140704_122162637242250632_3100507818885818599_n-1728041394.jpg
८० लाख खर्चिएर गत वर्ष मात्र अमेरिका गएका दीपकको गत साउन दोस्रो साता काममै रहेको बेला बन्दुकधारी लुटेराले गोली प्रहार गरी हत्या गरेका थिए । उनी टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको एक ग्याँस स्टेसनमा कार्यरत थिए । 

यसैबिच अमेरिकामा रहेका नेपालीहरूले दीपकको परिवारका लागि करिब डेढ करोड भन्दा बढी सहयोग गरेका छन् । विभिन्न सहयोग अभियान मार्फत सङ्कलन भएको उक्त सहयोग हालसम्म परिवारलाई भने हस्तान्तरण गरिएको छैन । दीपकको घरमा आमा बुवा सहित श्रीमती र एक छोरी रहेकी छन् । दीपकको अमेरिकामै अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update