Kakhara सबैको खबर सम्पूर्ण खबर
छैटौँ शिद्धगुफा गोल्ड कप फुटबल शनिवार देखि 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा हरेक वर्ष सञ्चालन हुँदै आएको शिद्ध गुफा गोल्ड कप फुटबलको छैटौँ संस्करण असोज १९ गते शनिवार देखि हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको र शनिवार दिउँसो उद्घाटन हुने आयोजक सल्ले यूथ क्लब मुसिकोट नगरपालिका १ सल्लेले जनाएको छ । दसैँ, तिहार जस्ता चाडपर्वको अवसर पारी क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । छैटौँ संस्करणको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने छ भने फेयर प्ले अवार्ड पनि वितरण गरिने बताइएको छ । प्रतियोगिता सेभन ए साइड भएकोले एउटा टिमले ७ जना खेलाडी खेलाउन पाउने आयोजकको भनाई छ । तर एक टिममा १० जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक हुनुपर्ने, जिल्ला बाहिरबाट ३ जना खेलाडी राख्न पाइने, रुकुम पश्चिम र पूर्वलाई एउटै जिल्ला मानिने बताइएको छ ।

खलङ्गाको बराहटाकुरामा हुने प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सहभागीताका लागि दर्ता शुल्क ७ हजार राखिएको छ भने प्रति पहेँलाे कार्ड २५० र रातो कार्डको लागि ५०० जरिवाना तोकिएको छ ।

विभिन्न व्यक्तिबाट सहयाेग जुटाएर प्रतियाेगिता सञ्चालन गर्न लागिएकाे आयाेजक सल्ले यूथ क्लबले जनाएकाे छ । प्रतियाेगिताकाे विजेता पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ मुसिकाेट नगरपालिका वडा नम्बर १ सल्ले घर भई हाल अमेरिकामा रहनुभएका कमल बुढाथाेकीले सहयाेग गर्नुभएकाे छ । त्यस्तै उप विजेता पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ मुसिकाेट १ सल्लेका हाल अमेरिकामा रहनुभएका कमल थापाले सहयाेग गरेकाे आयाेजककाे भनाई छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update