Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तहको गुनासो : `कार्यविधि  नबन्दा पुननिर्माणको काम गर्न सकेका छैनौं´
बैठकमा सहभागी ।

भूकम्प गएको झण्डै एक वर्ष पुग्न लाग्दा समेत  सबै पीडितले अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता पाउन नसेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले संघ सरकारलाई  गुनासो पोखेका छन । शुक्रबार जिल्ला प्रशासन कार्यालय  रुकुम पश्चिमले आयोजना गरेको विपत व्यवस्थापनको बैठकमा स्थानीय तहका जनप्रतिनिधिले जिल्लाका सबै भूकम्प  पीडितले पहिलो किस्ता पाउन नसकेको, पहिलो किस्ता पाएकाले पनि दोस्रो किस्ता पाउन नसकेको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका हुन । वर्षातको समय जसोतसो पीडितले समय कटाएको भएपनी हिउँदको चिसोबाट जोगाउन पहिलो किस्ता, दोस्रो किस्ता लगायत पुननिर्माणको काम तत्काल  सुरु गर्नुपर्ने बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउनुभयो ।

भूकम्प पीडितले भोग्नु परेको विषय उल्लेख गर्दै नेपाल सरकारले पुननिर्माणको कार्यविधि बनाउन नसक्ने भए स्थानीय सरकारलाई त्यसको जिम्मा दिनुपर्ने समेत बाँठाले  बताउनुभयो । संघ सरकारको कार्यविधि पर्खिदा पीडितलाई थप समस्या झेल्नु परेको बाँठाको भनाई थियो ।

स्थानीय सरकारले लाभग्राहि एकिन गरेर पठाएको लामो समयमा पनि केही भूकम्प पीडितले    आवास निर्माण गर्न पहिलो किस्तानै प्राप्त गर्न नसक्नु दु:खद भएको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । पहिलो किस्ता  र दोस्रो किस्ता प्राप्त गर्न बाँकी रहेका लाभग्राहीलाई तत्काल किस्ता वापतको रकम उपलब्ध बनाउनुपर्ने उहाँको भनाइ थियो ।

भूकम्प गएदेखी उद्दार र राहतमा उदाहरणीय काम गरेको उल्लेख गर्दै  सरकारको कार्यविधि अनुसार काम गरिरहेको   बताउनुभयो   । केही व्यक्तिबाट स्थानीय सरकारले लाभग्राही एकिनमा  सहि तथ्यांक  विना लाभग्राही कायम गरेको विषय उठाउन  गरेको कुरा उल्लेख गर्दै स्थानीय तहले पीडितको तथ्यांक संकलनमा कुनै त्रुटी नगरेको स्थानीय तहको भनाइ थियो ।

स्थानीय तहले भूकम्पपीडितको तथ्यांक संकलनमा  कुनै  समस्या नभएकाले पाउन बाँकी पीडितलाई किस्ता बापतको रकम उपलब्ध बनाउनु पर्ने चौरजहारी नगर प्रमुख पुष्प वादीले बताउनुभयो । पुननिर्माण सम्बन्धी  संघ सरकारले कार्यविधि नबनाएर स्थानीय सरकारलाई  अलमल काम गरेको  उहाँको भनाइ थियो । पीडितको विवरण प्राविधिकरणको पोर्टलमा सुचिकृत भइसक्दा पनि केही भूकम्प पीडितको किस्ता रोकिएको ती समस्या तत्काल हल गर्नु  पर्ने उहाँले बताउनुभयो   । पहिलो किस्ता दोस्रो किस्ता लगायत अल्झेको कामलाई तत्काल सरकारले  यक्सन लिनुपर्ने  नगर प्रमुख वादीले उल्लेख गर्नुभयो ।

 भूकम्प पीडितको समस्या नजिकबाट बुझेको उल्लेख गर्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले सरकारलाई बेला बेला ध्यानाकर्षण गराएको बताउनुभयो । अहिलेसम्म पुननिर्माणको काम गर्न नसकेको अवस्थामा दशैं तिहार लगत्तै सबै मिलेर जाडो समयमा पीडित परिवारलाई  स्थायी आवासमा  बसाउने गरि लाग्नु पर्ने बताउनुभयो  ।

पीडितले पाउन बाँकि पहिलो किस्ता दोस्रो किस्ताको बारेमा अर्थमन्त्री र गृहमन्त्री  सँग  कुरा  गरेको उल्लेख गर्दै उहाँहरुबाट केही दिनमा किस्ता बापतको रकम प्राप्त हुने जानकारी  प्रराप्त भएको   उहाँको भनाइ थियो । पुननिर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै मन्त्री परिषदबाट पारित हुन बाँकी रहेको र स्थानीय तहमा कार्यविधि छिटै आउने उहाँको भनाइ  थियो ।

चाडपर्व नजिकिए सँगै जिल्लामा हुने कालोबजारी, सवारी साधनमा चेकजाँचमा कडाइ गर्नुका साथै  शान्ति सुरक्षाको प्रत्याभूत हुने गरी काम गर्न जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई राष्ट्रिय सभा सदस्य रोकायले  निर्देशन समेत दिनुभएको थियो । 

कार्यक्रममा  पुर्व कर्णाली प्रदेश सभा देवि ओली,  प्रदेश सभा सदस्य मिलन खड्का, तुल्सा मल्ल, कल्याणी खड्का र  सानीभेरी गाउँपालिका  उपाध्यक्ष कमला रोकाले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, राजनितीक दलका प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update