जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व नजिकिए सँगै जिल्ला बासीलाई शान्त र सुरक्षित रूपमा चाडपर्व मनाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै चाडपर्व सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गरेको हो । चाडपर्वमा पटाका, भुइँचम्पा, आतसबाजी लगायतका विस्फोटक पदार्थले मानवीय, भौतिक तथा वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न अनुरोध गरेको छ ।
त्यस्तै चाडपर्वको समयमा मादक पदार्थ तथा लागु पदार्थ सेवन गर्ने र जुवा तास खेल्ने खेलाउने जस्ता कार्य नगर्न, चाडपर्व मनाउन घर छाडेको वा यात्रा गरेको कुरा सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न, चाडपर्वको फाइदा उठाई चोरी तथा लुटपाट हुन सक्ने भएको हुँदा सावधानी अपनाउन समेत अनुरोध गरेको छ । घर छाडी स–परिवार आफन्तकोमा जाँदा नजिकको छिमेकी एवं प्रहरीलाई जानकारी गराउन, धारा पानी, बिजुली तथा भान्सा कोठामा ग्याँस चुलो सुरक्षितसाथ बन्द गर्न नगद पैसा तथा बहुमूल्य चिज बस्तुहरू घरभित्र नराख्न समेत अनुरोध गरिएको छ ।
चाडपर्वमा दुर्घटनाको पनि जोखिम हुनुभएकाले यात्रा गर्दा सिट क्षमता भन्दा बढी यात्रु बोकेको सवारीसाधनमा यात्रा नगर्न, मादक पदार्थ सेवन गरेको र तनावमा रहेको अवस्थामा सवारीसाधन नचलाउन समेत भनिएको छ । विजया दशमी तथा दीपावली एवं छठ पर्वमा कुनै उच्छृङ्खल गतिविधि भएमा वा गरेको पाएमा नजिकको प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सम्पर्क नम्बर १००, ९८५७८७००५५ र ९८५७८९०५५० मा फोन गरी जानकारी बनाउन समेत अनुरोध गरिएको छ ।