Kakhara सबैको खबर सम्पूर्ण खबर
बजार अनुगमन:  सात व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना 

रुकुम पश्चिममा चाडपर्व नजिकिए सँगै बजार अनुगमनलाई तीव्र पारिएको छ । जिल्ला सदरमुकाम खलङ्गा लगायत विभिन्न स्थानीय तहहरूमा सञ्चालन भएका विभिन्न खाद्यान्न तथा उद्योगहरूमा अनुगमन तीव्र पारिएको हो । केही दिन अघि जिल्ला सदरमुकाम खलङ्गा सहायक प्रमुख जिल्ला अधिकारी विनोद  रेग्मीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा गुणस्तरहीन सामग्री विक्री वितरण गरेको भन्दै ५ हजारका दरले ४ वटा होटेल तथा चाउमिन उद्योगलाई २० हजार जरिबाना गरेको थियो ।

भने ८ हजार ३ सय ४० रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरेको थियो । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले चौरजहारीका विभिन्न सात वटा व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, केहीमा म्याद गुज्रेका सामग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाएको छ ।

अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका  वर्षा इन्टरप्राइजेज एन्ड सप्लायर्स, पुरी किराना पसल एन्ड सप्लायर्स र विजयश्वरी चाउमिन उद्योगलाई १० हजारका दरले ३० हजार जरिबाना गरिएको छ । भने पाँच हजार ८० रुपैयाँ मूल्य बराबरको म्याद  गुज्रिएको सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

चाडबाडको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण, गुणस्तरहीन सामाग्रीको बिक्री वितरण रोक्न, कानुनी मापदण्डको अवस्था निरीक्षणका तथा उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामग्री बिक्री वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमनलाई निरन्तरता दिने उहाँको भनाई छ ।  

उद्योग तथा व्यवसायीलाई बिक्रीका लागि खरिद गरेका वस्तुको बिल बिजक व्यवस्थित गर्ने, उद्योग स्थलको सरसफाइमा ध्यान दिने, आवश्यक कागजात पुरा गर्ने लगायतका निर्देशन समेत दिइएको अनुगमन समितिले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update