रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का एक बालक पौडी खेल्ने क्रममा सानीभेरी नदीले बगाएर बेपत्ता भएका छन् । खेम गिरीका ७ वर्षीय छोरा सन्तोष गिरी बगेर बेपत्ता भएका हुन । घरको दाइ र साथीसँग पौडी खेल्न गएका सन्तोष आइबार दिउँसो सानीभरी नदीकाे लामितालबाट बगेर बेपत्ता भएको वडा अध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन्तोषलाई आइतबारदेखि स्थानीय तथा प्रहरीले खोजी गर्दा पनि भेटाउन सकिएको छैन । प्रहरी चौकी सिम्ली र प्रहरी चौकी सानचौर सहित स्थानीयले खोज कार्य गरिरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । तीन दिनसम्म खोज कार्य गर्दा पनि नभेटिएकाले भेटिने सम्भावना कमै रहेको उहाँले जानकारी दिनुभयो ।
बालक बेपत्ता भएको खबर प्राप्त भएपछि प्रहरीलाई खटाएको र खोज कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।