Kakhara सबैको खबर सम्पूर्ण खबर
बराहटाकुरामा साविक रुकुम खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता  सुरु 

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित साबिक रुकुम खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ बराहाटाकुरा कवर्डहलमा मङ्गलवारबाट प्रतियोगिता सुरु भएको हो । रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालिले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको जिल्ला समन्वय समिति उपप्रमुख देवबहादुर विकले उद्घाटन गर्नुभयो ।

साबिक रुकुम जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगितामा रुकुम पूर्वको १ टिम सहित ४० टिमको सहभागिता रहेको आयोजक रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालिका सह प्रबन्धक विशाल विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विजेता हुने समूहले २५ हजार ५ सय २५ रुपैयाँ, उपविजेता हुने समूहले १५ हजार ५ सय १५ र सान्त्वना हुने दुई समूहले समान ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । स्थान प्राप्त गर्ने सवै समूहलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको सह प्रबन्धक विष्टले जानकारी दिनुभयो । 

सह प्रबन्धक विष्टको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति उपप्रमुख विकको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सैलेश शर्माको विशेष आतिथ्यता रहको थियो । त्यस्तै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा, शिक्षा विकास समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, कृषि विकास कार्यालयका प्रशासकीय अधिकृत  तेजबहादुर खत्री, प्रादेशिक अम्पाएर कवीन्द्र पुन, दीपा खत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो ।

प्रतियोगिता बुधवारसम्म चल्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update