Kakhara सबैको खबर सम्पूर्ण खबर
चाडपर्व मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन जिल्ला प्रशान कार्यालयको अनुरोध 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले चाडपर्वहरूलाई मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै चाडपर्वहरुलाई मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन जिल्लाबासी सबैलाई आग्रह गरेको हो । चाडपर्वको समयमा सवारी साधनको प्रयोगमा चाप हुने भएकाले उचित व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी तथा सरोकारवाला सम्पूर्णमा जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ ।

 साथै, यस वर्षको मनसुन अझै सक्रिय रहेकोले मनसुनजन्य विपद्को कारणबाट सडक तथा राजमार्गहरू अवरोध हुनसक्ने भएकोले सबै स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय तथा जिल्लास्थित विकास आयोजनाहरूले पूर्वतयारी एवम् प्रतिकार्यका लागि आफूसँग उपलब्ध स्काभेटर, लोडर, डोजर, टिप्पर लगायतका सामग्रीहरू तयारी अवस्थामा राख्दै सवारीसाधनहरूको आवागमनलाई सहज बनाउन समेत सम्बन्धित  सबैलाई सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मनसुन अवधिभर जुनसुकै बेला बाढीपहिरो झर्न सक्ने र नदीको सतहमा वृद्धि भै नदी आसपासका बस्ती उच्च जोखिममा रहन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले रुकुम पश्चिमले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update